Advertisement

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा पनि नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा उनले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको गुनासो गरेकी हुन् । 

त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत रानाले बताइन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको बताउँदै उनले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको बताइन् । 

Advertisement

रानाले भनिन्, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिन । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गए । मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ । अनि यो भ्रष्ट चाँही कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र ? कस्तो लाग्छ ? तपाईंहरुलाई । यहाँ जसको पहुँच छ, उसलाई तुरुन्त सबै थोक हुने । अन्याय र विभेद सहन नसक्ने मान्छे म । म सानो भूइमान्छे हो । म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थे । भीआईपीको सुविधा प्रयोग गर्दिन भन्थे । पहिला पुरुष उपसभामुख हुँदा खेरी चाहिं आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाहिं मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ । दिइएको छैन् । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ ।’

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताइन् । 

Advertisement

Advertisement