बीमा कम्पनीहरुको ‘सीएसआर’ खर्च पारदर्शी भएन्ः प्राधिकरण, नचाहिँदो आरोप होः कम्पनीहरु

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय बीमा कम्पनीहरुले गर्ने सामाजिक उत्तरदायित्वको समेत खर्चको विवरण माग गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ मा उल्लेख भएको प्रावधान उल्लङ्घन गरेको भन्दै कम्पनीहरुसँग खर्चको विवरण माग गरेको बताएको छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुले बेथितिपूर्ण ढंगले आफ्नो अनुकुल खर्च गर्न थालेपछि यस्तो निर्देशन दिनुपरेको बताए । कर्पोरेट नेपालसँग उनले भने, ‘बीमा कम्पनीहरुले आफ्नो अनुकुल सीएसआरको पैसा खर्च गर्न थालेपछि हामीले अलि कडा नीति लिन बाध्य भएका हौं । बीमा ऐनमा हेर्नु भयो भने भौगोलिक विकटता भएका ठाउँमा पनि बीमा कम्पनीहरुले आफ्नो सामाजिक दायित्व अनिवार्य रुपमा पूरा गर्नु पर्ने व्यवस्था छ । तर त्यो गरेको देखिन्न ।’ 

Advertisement

पौडेलले बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्वको भूमिका निभाउँदै ननिभाएको भन्दा पनि न्यायोचित र पारदर्शी ढंगले आवश्यक ठाउँमा पुग्न नसकेकाले यस्तो व्यवस्था ल्याएको बताए । 

यता बीमा कम्पनीहरुले भने आफूहरुले सामाजिक दायित्व पूरा गर्दै आएको र सेवा भावको रुपमा गरिने खर्चभन्दा पनि कालोधन, गैरकानुनी लगानी तथा सम्पत्ति शुद्धीकरण जस्ता जटिल विषयमा प्राधिकरणको ध्यान जानुपर्ने बताएका छन् । 

केही बीमा कम्पनीका सीईओहरुले एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वका लागि छुट्याउनु राम्रो कुरा भए पनि समाज सेवा गाउँ शहर जहाँ गरे पनि सेवा नै हुने र आवश्यकताका आधारमा कम्पनीहरुले सेवा गर्दै आएको दाबी गरेका छन् । 

एक पूरानो कम्पनीका सीईओले भने, ‘प्राधिकरणले आरोप लगाउँदा तर्कसंगत लगाउनुपर्छ । नचाहिँदो आरोप लगाएर हुन्न । बीमा क्षेत्र, बैंकिङ क्षेत्र नीति निर्देशनमा बसेर सामाजिक दायित्व निर्वाह गर्ने क्षेत्र हो । प्राधिकरणले आरोप लगाएजस्तो सीएसआरको पैसा जथाभावी खर्च भएजस्तो लाग्दैन् ।’ 

Advertisement

Advertisement