‘वान’ प्रणालीले बढायो दैनिक पाँच करोड राजस्व, ‘कमर्सियल’ सामान किन भन्सारमा थन्किए ?

Advertisement

काठमाडौं । भन्सार विभागमा वाइडर एरिया नेटवर्क (वान) प्रणाली सक्रिय बन्दा भन्सार महसुलमा सकारात्मक असर देखिन थालेको छ । विभागले ‘वान’लाई कडाईका साथ लागू गर्दा महसुल संकलनमा दैनिक पाँच करोड रुपियाँ वृद्धि भएको हो ।

विभागले कात्तिकदेखि ‘वान’को मोडेल फेरेर सक्रिय बनाएको हो । यो पं्रणाली सक्रिय बनाउँदा दैनिक पाँच करोड रुपियाँको दरले भन्सार महसुल असुलीमा सुधार भएको विभागका महानिर्देशक चक्रबहादुर बुढाले जानकारी दिए ।

Advertisement

उनले भने ‘वान’ सक्रिय बनाउँदा दैनिक पाँच करोड रुपियाँको दरले महसुल असुलीमा सहयोग पुगेको छ । महसुल बढाउन आन्तरिक तथा बाह्य क्षेत्र दुवैमा गहन ढंगले लागिपरेका छौं ।’ आयातमा आएको गिरावटले भन्सार महसुलको लक्ष्य  करिव ६२ प्रतिशतमा खुम्चिएको छ।

के हो ‘वान’ प्रणाली ?
भन्सार विभागले भन्सार जाँचपासलाई प्रभावकारी बनाउनका लागि यो प्रणाली सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत सबै भन्सार कार्यालय र छोटी भन्सारलाई अनलाइन प्रणालीमा ल्याएको छ । ‘वान’ प्रणालीमा कुन भन्सार कार्यालयले कुन सामग्री कसरी जाँचपास गर्यो ? स्पष्ट देख्न सकिन्छ ।

विभागले शाखालाई चार भागमा विभाजन गरेको छ । जसमा कर्मचारी आएपछि सुरुमै गोला प्रथा गरिन्छ । यसरी गरिएको गोला प्रथामा कुन भन्सार कार्यालयको अनुगमन कुन कर्मचारीले गरिहरहेको छ ? भन्सार कार्यालयका कर्मचारीले थाहा पाउँदैनन् । यसले भन्सार कार्यालयहरुले गर्ने कैफियतलाई नजिकबाट नियाल्न सकिन्छ । 

यसरी सामान्य प्रकृतिको गल्तीमा भन्सार परीक्षणमा खटिएका कर्मचारीले सचेत गराएर रकम थप्न लगाउँछन् भने गम्भीर प्रकृतिको गल्तीमा कर्मचारीलाई नै सरुवा गरेर कारबाही प्रक्रिया अघि बढाउने गरिएको विभागको दावी छ । 

केहि महिनाअघि विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले प्रणालीमा प्रज्ञापन पत्र अपलोड गरी पुनः डिलिट गरेका थिए । यो सूचना विभागले थाहा पाएपछि कार्यालय प्रमुख सापकोटासहित एक अधिकृत र नायव सुब्बाको सरुवा गरेको थियो ।

सापकोटाले डिलिट गरेको प्रज्ञापन पत्र अनुसार सामान भन्सारको गोदाममा नआइपुगेको भन्दै डिलिट गरिएको पाइएको विभागको भनाई छ । तर पछि चेकजाँचको क्रममा सामान भन्सारकै गोदाममा भेटिएको थियो ।

विभागको ‘वान’ प्रणाली कात्तिकभन्दा अगाडि नै सुरु गरिए पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको थिएन । अहिले प्रणालीलाई प्रभावकारी बनाएपछि राजस्व संकलनमा सकारात्मक प्रभाव पारिरहेको छ । सो शाखामा खटिएका एक कर्मचारीले भने ‘कार्तिकदेखि यो प्रणालीलाई प्रभावकारी बनाउँदा दैनिक राजस्व संकलनमा धेरै प्रगति भएको छ । यसको प्रभाव एक पक्षमा मात्रै नहुने भएकाले समग्र भन्सार महसुल संकलनमा दीर्घकालीनरुपमा राम्रो प्रभाव पारेको छ ।’

ती कर्मचारीका अनुसार कात्तिकदेखि ३० करोड थप संकलन भइसकेको छ । यदि यो प्रणाली सक्रिय नबनाएको भए सो राजस्व सरकारको खातामा आउने थिएन ।

छुट्न छाड्यो ‘कमर्सियल’ सामान
राजस्व अनुसन्धान विभाग र भन्सार विभागले  जाँचपासमा कडाई सुरु गरेपछि सामान आयतमै कमी आउन थालेको छ । विभाग स्रोतका अनुसार अहिले सबैभन्दा धेरै जलविद्युतका सामग्रीहरु आयात भइरहेका छन्। 

दैनिक एक अर्ब २० करोड राजस्व संकलन भइरहेकोमा अहिले घटेर एक अर्ब मुनी आइपुगेको छ । गाडी बिक्री नभएर बिक्रेताहरुले भन्सारमै गाडी थुपारेर राखेका छन् । यस्तै अन्य कमर्सियल सामग्रीहरुको आयातमा पनि गिरावट आएको छ ।

अनुसन्धान विभागले पहिलो टार्गेट नै भन्सारलाई बनाएपछि भन्सार जाँचपासमा व्यवसायीहरु डराउन थालेका हुन् । सामान छुटाउन व्यापारीहरु किन डराए ? भन्ने विषयमा विभागले अध्ययन सुरु गरेको छ । 

Advertisement

Advertisement