मन्त्री श्रेष्ठलाई भेटेर चिनियाँ प्रतिनिधिले भने– नेपालमा थप लगानी सुनिश्चित गर्न आएका हौं

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सीसीपीआईटी)का उपाध्यक्ष झाङ शाओगाङले सोमबार भेटवार्ता गरेका छन् । 

मन्त्रालयमा भएको भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको मन्त्री श्रेष्ठले बताए । उनले चीन नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकाले चिनियाँ लगानीको सधैं स्वागत गरिने बर्ताए । 

Advertisement

केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक रहेको र चीन–नेपालको व्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढ्नुपर्ने बताएका थिए । 

उनले नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धता पनि दोहोर्याए । तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिँदै श्रेष्ठले कार्यकाल सफलताको शुभकामनासमेत दिएका थिए । 

त्यस क्रममा उपाध्यक्ष झाङले झन्डै चार वर्ष लामो कोभिड सङ्क्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुल्ला भएको बताएका थिए । कोभिडका कारण चीन र नेपालको बीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको उनको भनाई छ । 

झाङले नेपाल आफूहहरूको पूरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको बताए । उनले नेपालले ठूलो प्रविधियुक्त उद्योग–निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए । भेटवार्तामा चिनियाँ राजदूत छन सोङ पनि थिए । 

Advertisement

Advertisement