'बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड', तर व्यावसायिक अभिकर्ताको अझै अभाव

Advertisement

काठमाडौँ । बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाहरुले बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता रहेको बताएका छन् । 

राष्ट्रिय बीमा संस्थानले राजधानीमा आयोजना गरेको जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ता बिना नहुने बताएका हुन् ।

Advertisement

प्राइम लाइफका पूर्वसीइओ मनोजकुमार भट्टराईले कुनै पनि बीमा कम्पनीको तर्फबाट अभिकर्ताले ग्राहकसँग पहिलो साक्षत्कार गर्ने भएकाले उनीहरु नै पहिलो अन्डरराइटर भएको बताए ।

कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई स्वस्थ ढंगले अगाडि बढाउन अभिकर्ताको भूमिका रहने बताए । उनले अभिकर्ताहरुको मनोबल उच्च बनाई थप उत्प्रेरित र जवाफदेहि बनाउने, कर्मचारी र अभिकर्ताहरुबीच पारस्परिक सहयोग र सहकार्यको कार्यमूलक वातावरण निर्माण गरी बीमा व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि प्रष्ट पारे ।

अभिकर्ता हरिशरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु आजको आवश्यकता रहेको बताए । 

जीवन बीमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधा सम्बन्धी पनि कार्यक्रममा  छलफल भएको थियो । कार्यक्रममा संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठ, नायब महाप्रबन्धक महेश रिमाल, एजेन्सी विभाग प्रमुख चुडाराज अधिकारी गरी करीब ८० जनाको उपस्थिती थियो ।

Advertisement

Advertisement