स्वास्थ्यका लागि निकै खतरनाक रसायन प्रयोग हुने ‘प्रिन्टिङ पेपर’मा प्रतिवन्ध लगाउने तयारी

Advertisement

काठमाडौं । सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताइन् । 

मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गईरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको स्पष्ट पारिन् । 

Advertisement

महानिर्देशक बैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् । उनले भनिन्, ‘केही सस्तो र मिठो खाजाको रुपमा चाहिं स्ट्रिट फुडहरु एउटा राम्रो अल्टरनेटिभ हो । सबै जनाले फाईन डाईनिङ मात्रै गर्न सक्दैन । त्यसकारणले त्यो स्ट्रिट फुड प्वाईजनिङ हुनु भएन । यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । हामीले केही अगाडिदेखि नै विभागबाट पनि यसको एउटा कार्यविधि बनाऊ र, कार्यविधिमा अहिले हामीले तुरुन्तै गर्नसक्ने एउटा कुरा टडकारो रुपमा देखिएको र खड्केको कुरा चाहिं जुन न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ, त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ ।’ 

मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । यस्तै पेपरमा समोसाहरु पनि खाने गरिएको छ । फुड प्वाईजन हुने भएकाले यस्ता कागजको प्रयोगमा नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ भन्दै बैद्यले यसमा जनचेतना पनि जगाउने र क्रमशः यसलाई प्रतिबन्ध लगाएर खाद्य ऐनबमोजिम यस्तो हानीकारक चिजहरुलाई हामी प्रतिबन्ध लगाउन सकिने बताइन् । 

खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।  

Advertisement

Advertisement