अस्पतालमा अनियमितता गर्नेहरुलाई केही दिनभित्रै निलम्बन गर्छुः स्वास्थ्यमन्त्री यादव

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरुलाई केही दिनभित्रै निलम्वन गरिने बताएका छन् । 

सोमवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले अस्पतालहरुमा अनियमितता हुने गरेको भन्दै केही दिनभित्र अनियमितता गर्नेहरुलाई निलम्वन तथा कारबाही गरिने बताएका हुन् । 

Advertisement

अनियमितता गर्नेहरुलाई रंगेहात पक्रेर आफैँले अख्तियारमा पठाउने बताउँदै यादवले अस्पतालहरुमा भएको बेथिति रोक्न र दोषीलाई समात्न मन्त्रालयले चाँडै नै अस्पतालहरुमा टिम परिचालन गर्ने बताए । 

उनले राज्यले आमा सुरक्षा कार्यक्रममार्फत अपरेशन गरेर बच्चा जन्माउने आमामा लागि १० हजार रुपियाँ दिएको भए पनि सम्बन्धितले सो रकम नपाएका बताए । उल्टै आमालाई नै रकम तिराएर अनियमितता भइरहेको भन्दै यादवले त्यहाँ पनि आफ्नो ध्यान पुगेको बताए । 

मन्त्री यादवले राज्यले दिएको सेवा, सुविधा नागरिकलाई नदिएर अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती दिइरहेको भन्दै दोष चाहिँ मन्त्री र उच्चपदस्थ व्यक्तिहरुमा जाने गरेको बताए । उनले दोषीउपर सबैलाई कारबाही गरिने बताए । 

यादवले भने, ‘आमा सुरक्षामा सरकारले १० हजार रुपियाँ एउटा आमाको सुरक्षाको लागि दिइरहेको छ । खास गरेर अप्रेशन गरेर बच्चा जन्मिएको आमाको लागि । तर अधिकतम् आमालाई राज्यको पैसा पुगिरहेको छैन् । त्यहाँ ठगी भइरहेको छ । उल्टो पैसा तिराउने काम भइरहेको छ । राज्यले १० हजार रुपियाँ दिनुपर्ने उल्टो ऊ आमाले पैसा तिरेर गइरहेको छ । त्यो गरिबले कसरी राज्यप्रति विश्वास गर्छन् ? गालि गर्दैनन् नेताहरुलाई ? मन्त्रीहरुलाई ? त्यहाँको सांसदलाई ? त्यहाँको मेयरलाई ? त्यहाँको वडाअध्यक्षलाई ? आज नेतामाथि किन खनिएका छन् नागरिक ? बिगार्छ अरुले गालि खान्छ नेताले ।’ 

उनले थपे, ‘मैले मिहिन तरिकाले काम गरिरहेको छु । तपाईहरुको साथ, सहयोग भयो भने केही दिन भित्रमा धेरैजना सस्पेन्ड हुन्छ । धेरैजना कारबाहीमा पर्छन् । धेरै जनाको मुद्दा अख्तियारमा म आफैँ पठाउँछु । रंगेहात समातेर । त्यसको लागि मैले हरेक अस्पतालमा चाँडै टिमको गठन गर्न लागेको छु । त्यो टिमले बेथिति रोक्छ र समात्छ । राज्यले नागरिकको सस्तोमा उपचार होस् । निःशुल्क उपचार होस् भनेर पैसा दिने । त्यहाँको अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती गर्ने ? ठग्ने ? अनि दोष मन्त्रीलाई जाने ? दोष सचिवमाथि जाने ? दोषि डिजीमाथि जाने ? दोष त्यहाँको माननीयलाई जाने ? यो विषयमा म गहन तरिकाले काम गरिरहेको छु ।’

मन्त्री यादवले चिकित्सकहरुलाई सुगमस्थानबाट अन्य स्थानमा सरुवा नगर्न ठूलो स्तरबाट दबाब आउने गरेको बताए । उनले मन्त्रीको कुर्सी नै हल्लिने गरी चिकित्सक सरुवा नगर्न दबाब आउने गरेको बताए । यादवले सरुवा भएको ठाउँमा चिकित्सक जानैपर्ने अडानमा मन्त्रालय रहेको भन्दै निर्णयबाट पछाडी नफर्किने स्पष्ट पारे । 

उनले ठूला अस्पतालहरुमा धेरै कमजोरीहरु रहेको र व्यापक सुधारको आवश्यकता रहेको भन्दै आफू सुधारको काममा लागेको बताए । 

Advertisement

Advertisement