मर्जरबाट बनेको हिमालयन लाइफ बन्यो बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी, चाँडै पहिलो बन्नसक्ने

Advertisement

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेसबीच ‘बिग मर्जर’ भई आज मंगलबारबाट हिमालयन लाइफ इन्स्योरेन्स्को नाममा एकीकृत कारोबार सुरु भएको छ । 

बीमा क्षेत्रको यो अहिलेसम्मकै ठूलो मर्जर हो । नेपाल बीमा प्राधिकरणले मर्जरमा जानुपर्ने नीति अघि सारेसँगै मर्जर प्रक्रिया सुरु गर्ने यी तीन कम्पनीबीच ढिलो गरी आजबाट एकीकृत कारोबार सुरु गरेका हुन् । प्राधिकरणले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पाँच अर्ब कायम गर्नुपर्ने बाध्यकारी ब्यवस्था ल्याएपछि युनियन, प्राइम र गुराँसले मर्जरमा जाने सहमति गरेका थिए । 

Advertisement

यस्तो हुनेछ हिमालयन लाइफः
हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा यसअघिका यूनियन लाइफका सीईओ मनोजकुमारलाल कर्ण रहेका छन् भने कम्पनी सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् । 

कर्णले आगामी चार वर्षका लागि हिमालयन लाइफको व्यवस्थापनको नेतृत्व गर्नेछन् । मर्जरमा गएका कम्पनीका सीईओहरुलाई कुलिङ पिरियड नलाग्ने भएकाले कर्ण यसपछिको अर्को कार्यकाल पनि सीईओ रहनसक्नेछन् । यस कम्पनीमा शंकर ग्रुप, खेतान ग्रुप, गोल्छा ग्रुप, दुगड ग्रुपको मुख्य लगानी रहेको छ ।  

त्यस्तै, मर्जरपछि बनेको हिमालयन लाइफ जीवन बीमा क्षेत्रको दोस्रो सबैभन्दा ठूलो कम्पनी पनि बनेको छ । नयाँ कम्पनीको चुक्ता पुँजी आठ अर्ब दुई करोड पुगेको छ  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक्लै आठ अर्ब २० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ । 

मर्जरमा गएका गुराँसको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ६५ लाख ६३ हजार, युनियनको दुई अर्ब ३४ करोड २८ लाख र प्राइमको तीन अर्ब १४ करोड रुपियाँ रहेको थियो । ठूला र प्रभावशाली व्यापारिक घरानाहरुको लगानी भएकाले हिमालयन लाइफले नेपाल लाइफलाई समेत उछिन्नसक्ने संभावना देखिन्छ । 

Advertisement

Advertisement