पूर्वसाँसद तथा देउवाका विश्वासपात्र शेर्पा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन संविधानसभा सदस्य (पूर्व साँसद) आङटावा शेर्पा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । 

कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र व्यक्तिको रुपमा समेत चिनिएका शेर्पाले सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडसँग मिलेर आर्थिक लेनदेनमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । यो प्रकरणमा छानविन र पक्राउ सुरु भएपछि शेर्पाले आफूले रकम उठाएका केही व्यक्तिहरुको रकम फिर्ता समेत गर्न थालेका थिए । 

Advertisement

शेपाृले भुटानी शरणार्थीको नाममा पैसा उठाउने गिरोहसँग साँठगाँठ गरेको देखिएको भन्दै प्रहरीले यस प्रकरणको बिचौलियाको रुपमा पक्राउ परी हिरासतमा रहेका केशब दुलाल र सानु भण्डारीसँग हिरासतमै गएर भेटेर बालकृष्ण खाँडसहितका नेतालाई जोगाउने र केश मिलाउन सेटिङको प्रयास गरेका थिए । 

२०७० को निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन् । कांग्रेसमा देउवा खेमाका नेताको रुपमा चिनिएका शेर्पा देउवानिवासमा निरन्तर जाने र भेटवार्ता गरिरहने गर्थे । उनले निर्माण कम्पनी पनि सञ्चालन गर्दै आएका छन् । 
 
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका बनाउने भन्दै रकम उठाउने कार्यमा सक्रिय रहेको पाइएका शेर्पा यो प्रकरणमा संलग्नहरु एकपछि अर्को पक्राउ गर्न थालेपछि सक्रिय भएका थिए । उनले दुलाललाई प्रहरी वृत्त कालिमाटी र भण्डारीलाई प्रहरी वृत्त जनसेवामा पुगेर कुराकानी गरेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । बयानका क्रममा विचौलियाहरुले पनि शेर्पाको नाम लिएपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । 

दुलाल र भण्डारीसँगको भेटमा शेर्पापूर्वगृहमन्त्री बालकृष्ण खाण, आफ्नो र अरु नेताहरुको नाम बयानका क्रममा नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको भनाई छ । साथै, शेर्पाले हिरासतमा रहेकाहरुसँग आफूहरुले लिएको रकम फिर्ता गर्ने आश्वासन पनि दिएको जनाइएको छ । प्रहरी स्रोतका अनुसार दुलाल र भण्डारी हिरासतमा पुगेपछि उनको परिवारका सदस्यसँग रकम फिर्ता गर्ने लिखित सम्झौतासमेत गर्दै यस प्रकरणमा आफू र कांग्रेस नेताहरुलाई नमुछ्न लगाउन आग्रह गरेका थिए । 

विचौलिया दुलालले खाँड गृहमन्त्री रहेको बेला उनलाई र तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई एकमुण्ठ एक करोड २५ लाख रुपियाँ बुझाएको बयान दिएपछि सोही आधारमा प्रहरीले खाँड र पाण्डेलाई पक्राउ गरेको थियो । यस कारोबारमा संलग्न रहेको देखिएपछि खाँडका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका थिए । 

यस प्रकरणमा एमालेका उच्च नेताहरुसमेत संलग्न रहेको देखिएको छ । 

Advertisement

Advertisement