सरकारको आम्दानीभन्दा खर्च दुई खर्ब ७० अर्बले बढि

Advertisement

काठमाडौं । सरकारको आम्दानीभन्दा खर्च दुई खर्ब ७० अर्बले बढेको छ । चालु वर्षको ११ महिना १० दिनमा १० खर्ब ९० अर्ब खर्च भएको छ भने आम्दानी आठ खर्ब १९ अर्ब रुपियाँ मात्रै भएको छ । 

चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब खर्च गर्ने सरकारले लक्ष्य लिएको छ । अपेक्षा अनुसार राजस्व संकलन नहुँदा खर्च र आम्दानीको दुरी बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बुधबार (जेठ १०)सम्म सबै शीर्षकमा आठ खर्ब १९ अर्ब रुपियाँ मात्रै संकलन भएको छ।

Advertisement

जसमा कर राजश्व शीर्षकतर्फ सात खर्ब पाँच अर्ब र गैरकर राजस्व शीर्षकमा ७२ अर्ब ५६ करोड रुपियाँ संकलन भएको छ । अनुदान चार अर्ब ८० करोडमा खुम्चिँदा अन्य शीर्षकमा ३६ अर्ब ३८ करोड रुपियाँ संकलन भएको छ ।

खर्चतर्फ सरकारले चालु शीर्षकमा आठ खर्ब १४ अर्ब खर्चिएको छ । यस्तै विकास शीर्षकमा एक खर्ब ३४ अर्ब रुपियाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ४१ अर्ब रुपियाँ खर्च भएको छ।

खर्च धान्न हम्मेहम्मे परेपछि अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा खर्च कटौती गरिसकेको छ । अनिवार्य दायित्व नै धान्न गाह्रो परेपछि सरकारले धमाधम आन्तरिक ऋण उठाइरहको छ । चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपियाँ आन्तरिक ऋण असुल गर्ने लक्ष्य सरकारले लिएको छ । 

 

 

Advertisement

Advertisement