कोरोना महामारीपछि निक ट्रान्सफर्मर पुनः भुटान निर्यात सुचारु

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको मुख्य लगानी रहेको ‘नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेडले पुनः आफ्नो ‘निक’ ब्राण्डका ट्रान्सफर्मर भुटान निर्यात सुरु गरेको छ । 

झन्डै तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा व्यापार गर्दै आएको कम्पनीले पुनः भुटान निर्यात सुरु गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण रोक्किएको भुटान निर्यात तीन वर्षपछि सुचारु भएको हो । कोरोना महामारीको अन्त्यसँगै विद्युतीकरणको काममा तीव्रता आएपछि भुटान पावर कर्पोरेशन लिमिटेड (बीपीसी)ले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको, त्यसमा भारतलगायतका विभिन्न देशलाई पछि पार्दै निक बोलपत्रमा छनोट भएको कम्पनीले बताएको छ ।

Advertisement

ठेक्का पाएअनुसार ट्रान्सफर्मर उत्पादन गरी निर्यात सुरु भइसकेको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए । ठेक्का सम्झौताअनुसार १४ करोड १४ लाख ३८ हजार रुपियाँ (१० लाख ७१ हजार अमेरिकी डलर) बराबरको १५ केभिएदेखि १२५० केभिए क्षमतासम्मका १६० ट्रान्सफर्मरको निर्यात सुरु भएको उनले बताए ।

जोशीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पनि नेपालमा उत्पादित वस्तुहरूको प्रतिस्पर्धा छ । नेपाली उद्योगले समेत निर्यात क्षेत्रबाट पर्याप्त विदेशी मुद्रा आर्जन तथा देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्नसक्छ ।’

सरकारले निर्यात करमा छुट दिएमा तथा अन्य सहुलियत प्रदान गरेमा भुटानलगायत दक्षिण एसियाका अन्य मुलुकमा समेत ट्रान्सफर्मर निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाई छ । जोशीले आफूहरुले स्वदेशी बजार विस्तार गर्नुका साथै विदेश निर्यातमा समेत फराकिलो सम्भव्यता अध्ययन गरिरहेको बताए । 

निक र बीपीसीबीच ट्रान्सफर्मर निर्यात गर्ने विषयमा २०७९ मंसिर २ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतामा सन् २०२३ मार्चभित्र तोकिएको संख्यामा ट्रान्सफर्मर निर्यात गर्नुपर्ने शर्त छ । कम्पनीले यसअघि बंगलादेशमा पनि आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

केही अत्यावश्यक कच्चा पदार्थ आयात गरी हेटौंडास्थित कारखानामा ट्रान्सफर्मर उत्पादन गर्दै आएको नेपाल ईकरातले स्वदेशमा नेपाल विद्युत प्राधिकरणलगायतका सरकारी र गैरसरकारी निकाय र संस्थालाई ट्रान्सफर्मर बिक्री गर्दै आएको छ । गुणस्तरीय उत्पादनका कारण विदेशमा समेत निर्यात गर्न सफल हुँदै आएको कम्पनीले ट्रान्सफर्मरमा देशलाई आत्मनिर्भर बनाउन सकिने गरी काम गरिरहेको बताउने गरेको छ । 

कम्पनीले प्राधिकरणका विभिन्न ठेक्कामा १० हजार वितरण ट्रान्सफर्मर बिक्री गर्न ठेक्का पाएकोमा अहिलेसम्म सात हजार हस्तान्तरण गरिसकेको जनाएको छ । वार्षिक १० हजार थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको कम्पनीले स्वदेशभित्र ग्रामीण विद्युतीकरण, जलविद्युत आयोजना निर्माण क्षेत्र, सामुदायिक तथा सार्वजनिक संस्थाहरूसम्म ट्रान्सफर्मर व्यवसायको पहुँच पुर्याएको छ । 

Advertisement

Advertisement