राजश्व कम उठेर रन्थनिएको अर्थ मन्त्रालयसँग कोरोना बीमाको रु. ११ अर्ब माग्दै प्राधिकरण

Advertisement

काठमाडौं । कोरोना बीमाको ११ अर्ब रुपियाँ बराबरको दाबी भुक्तानी बाँकी रहेको भन्दै नेपाल बीमा प्राधिकरणले उक्त भुक्तानी सरकारसमक्ष माग गरेको छ । 

राजश्व लक्ष्यअनुसार नउठेर अर्थ मन्त्रालय रन्थनिएको बेला प्राधिकरणले लामो समयदेखि रोक्किएको रकम प्राप्त गर्न ताकेता गरेको हो । बीमितले आफूहरुलाई दावी भुक्तानी नदिएको भन्दै विरोध जनाएपछि सरकारको प्रतिवद्धताअनुसारको रकम भुक्तानी हात पार्न पहल गर्दै आए पनि अर्थ मन्त्रालयले भने पैसा दिन आनाकानी गर्दै आएको छ । 

Advertisement

बीमितले दावी भुक्तानी पाउन लामो समयसम्म पर्खनु परेको भन्दै प्राधिकरणले यो आर्थिक बर्षमा दिन नसके आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत उक्त रकम दिने कुराको सुनिश्चितता गर्न माग गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘एघार अर्ब चानचुन अब बीमितलाई दिन बाँकी छ । दिने नदिने कुरा सरकारको हातमा छ । हामीले भन्दै आएका छौं । सरकारको दायित्व भएकाले कोरोना बीमाको दाबी भुक्तानी दिन सरकारले ढिलाई गर्नु जरुरी छैन् । छिटो दिँदा मात्रै बीमाप्रतिको विश्वसनीयता बढ्दै जान्छ । सरकारले सकेसम्म यही बर्ष दिइदियोस भन्ने हो । नभए बजेटमार्फत अर्को बर्ष दिने कुराको सुनिश्चितता गर्नुपर्छ ।’ 

कोरोना महामारीबाट जनता पीडित भएको तत्कालिन समयमा सरकारले कोरोना बीमालाई प्राथमिकता दिएर बजेटमा नै रकम दिने प्रतिवद्धता जनाएकाले सो प्रतिवद्धताका आधारमा कम्पनीहरुले पनि बीमा गराएको बताउँदै उनले प्रतिवद्धताबाट सरकार पछि हट्न नहुने बताए । कोरोना बीमाको भुक्तानी अर्थ मन्त्रालयबाट चाँडै आउँछ भन्नेमा आफूहरु विश्वस्त रहेको पौडेलले बताए । 

तर, अर्थ मन्त्रालयले भने कोरोना बीमाको प्रतिवद्धताअनुसारको रकम दिन खोजेको जस्तो पनि गर्ने र रकम भने निकासा नगर्ने प्रवृत्तिबाट बीमा प्राधिकरण र बीमा कम्पनीहरु आजित भएका छन् । त्यसमाथि पछिल्लो समयमा लक्ष्यअनुसार राजश्व नउठ्दा उसलाई खर्च व्यवस्थापन गर्न धौधौ परेकाले यस्तो बेलामा कोरोना बीमाको रकम निकासा हुने कुनै गुन्जायस देखिन्न ।

कार्यकारी निर्देशक पौडेलले कोरोना बीमाको पुनर्बीमा नहुुने भएकाले त्यसको बाँकी दायित्व सरकारसम्म पुगेको बताए । कोरोना बीमालाई राजनीतिक नजरबाट हेर्ने र चुनाव आएपछि केही रकम दिए जस्तो गर्ने दल र नेताहरुको प्रवृत्तिले पनि कोरोना बीमाका बीमितहरु अन्यायमा परेका छन् । 

गएको चुनावअघि अर्थ मन्त्रालयले कोरोना बीमावापत जम्मा एक अर्ब ८१ करोड रुपियाँ मात्रै दिएको थियो । नेपाल पुनर्बीमा कम्पनी, तत्कालिन बीमा समिति र बीमा कम्पनीहरुले आ–आफ्नो भागमा छुट्टिएको रकम दावी भुक्तानी गरिसके पनि सरकारले दिनुपर्ने रकम नदिँदा एक लाख भन्दा बढी बीमित आशैआशामा बस्नुपरेको छ । 

भुक्तानी सरकारले जति छिटो दिनसक्छ, त्यति नै राम्रो हुने पौडेलले बताए । जम्मा १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गराएका थिए । एक लाख ६५ हजार ५९ जना बीमितले १५ अर्ब ८२ करोड रुपियाँ बराबरको दाबी गरेका थिए ।  सरकारको दायित्वमा रहेको रकम प्राप्त नहुँदा अझै एक लाख १२ हजार बीमित कोरोना बीमाको रकम पाउने प्रतिक्षामा छन् ।

Advertisement

Advertisement