बजेटको चटारोमा अर्थ मन्त्रालय सुनसान, छलफल, भेटघाट र निर्णय बाहिरै, अनुमोदन भित्र

Advertisement

काठमाडौं। बजेट भाषण गर्ने दिन नजिकिँदै गर्दा अर्थमन्त्री प्रकाशशरण महतले चलाखीपूर्ण ढंगले भेटघाट पातलो बनाएका छन् । मन्त्री महतले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालाको घटनाबाट पाठ सिक्दै भेट्नुपर्ने मानिसहरुसँग मन्त्रालयमा नभएर बाहिर भेट्न थालेका छन् । 

वर्षेनी बजेटको मुखमा व्यस्त रहने अर्थ मन्त्रालय यस पटक भने सुनसान प्राय देखिन्छ। विगतका बर्षहरुमा बजेटअघि मन्त्रीलाई भेट्ने नेता, व्यवसायीदेखि स्वार्थ समूहसम्मको भीड नै लाग्ने गर्थ्यो ।  

Advertisement

अहिले भने अर्थमन्त्रीले बजेटलाई लक्षित गरेर नियुक्त गरेका सल्लाहकार र मन्त्रालयका कर्मचारी अन्य व्यक्ति भेटिदैनन। मन्त्रालयमा कर्मचारीलाई भेटघाटमा पनि कडाई गरिएको छ । मन्त्रालयको गेटबाट प्रवेश गर्दा पनि टेलिफोनबाट यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ । 

बजेटको आय व्ययको हिसाब सकेर यतिबेला रातो किताब छपाईका लागि प्रेसमा पठाउन सुरु गरिएको छ । अब बजेटको महत्वपूर्ण विषय राजश्वका दर सम्बन्धी छलफल सुरु भएको छ । कर्मचारीप्रति त्यति विश्वास नगरेर हुनसक्छ, राजश्वका दरहरु निर्धारणमा एकलरुपमा निर्णय गर्न चाहेका छन् । 

राजश्व प्रणालीमा सुधारको कुरा गर्दै आएका मन्त्री महतले कस्तो सुधार गर्न खोजेका हुन् ? बजेट टिमकै अर्थ मन्त्रालयका कर्मचारीलाई समेत खुलाएका छैनन् । उनले मन्त्रालयमा राजस्व छलफलका लागि भन्सार विभागबाट सेवन्तक पोख्रेल, आन्तरिक राजस्व विभागबाट महानिर्देशक दीर्घराज मैनाली, राजस्व सचिव रामप्रसाद घिमिरे लगायत मन्त्रालयको टिम रहेको छ । 

यद्यपी सचिव घिमिरे राजस्वसम्बन्धी ज्ञान भएका कर्मचारी होइनन् । उनीलाई बजेटको २५ दिनअघि मात्रै मन्त्रीको योजना अनुसारको कार्यादेश स्वीकृत गराएर मन्त्रालय थमौति गरिएको हो। कार्यादेश स्वीकृत नगरेका सचिव तोयम रायलाई भने उनले प्राविधिक कारण पर्यो भन्दै सरुवा गरेका थिए ।

मन्त्रालयको राजस्व टिमको छलफल एकातिर देखिएको छ भने मन्त्रीको तयारी अर्कैतिर देखिएको छ। यो पटक मन्त्री महतले चलाखीपूर्ण ढंगले विवादमा नपर्ने उपाय अपनाएका छन् । भेट्नुपर्ने मान्छेलाई आफ्नै निवास, आफ्नो पार्टीका सभापतिको निवास वा अन्यत्र भेट्ने गरेका छन् । 

करका दरहरु निर्धारणमा कर्मचारीहरुलाई त्यत्ति विश्वास गर्न नसकेको अर्थमन्त्री महतले मन्त्रालयको राजस्व टिमलाई यसको सैन्दान्तिक विषयमा सहमति गराए पनि दररेट भने बाहिरबाटै टुंग्याउने लागेको देखिएको अर्थ मन्त्रालय स्रोतको भनाई छ । 
उदाहरणका लागि मन्त्री महतले नेपालमा सुरु भएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका एसेम्बल उद्योगमा अन्तःशुल्क छुटले राम्रो नतिजा दिएन भन्ने विषयमा राजस्व टिमलाई सहमति गराएका छन् । तर दर कति कायम गर्ने ? भन्ने विषयमा भने कोर टिमसँग बसेर टुंग्याउने खोजेको देखिन्छ ।

स्रोतले भन्यो, ‘उहाँ विवादमा नपर्नेगरी चलाखीपूर्ण तरिकाले काम गरेको देखिन्छ । बजेट तयारी सुरु भएपछि व्यापारी र अरुसँग कसैसँग भेटघाट गर्नुभएको छैन् । बाहिर उहाँहरुको भेटघाट छलफल भएर टुंगो लागेपछि मन्त्रालयमा विषय प्रवेश गराउने गर्नुभएको छ ।’

अर्थमन्त्रीको अदृश्य कोर टिममा को को छन् ? खुल्न सकेको छैन् । मन्त्रालयको आधिकारिक टिमलाई अविश्वास गरेर काम गर्दा झन आशंका र असन्तुष्टि बढ्ने स्रोतको गुनासो छ । ‘मन्त्रालयको आधिकारिक टिमलाई अविश्वास र उपेक्षा गरेर बाहिर प्रायः सबै विषय टुंग्याएर प्रक्रिया पूरा गर्न मात्रै आउने भनेको अब्बल कर्मचारीप्रतिको अविश्वास पनि हो’, स्रोतको भनाई छ ।  

एक पूर्वअर्थसचिव (वर्तमान सचिव) अर्थमन्त्री महतको गोप्य सुचना लिक नहोस भन्ने अपेक्षा हो भने ठिकै हो, तर लामो समय निजामती सेवामा इमान्दारिताका साथ काम गर्दै आएका कर्मचारीहरुलाई समेत अविश्वास र आशंका गर्नु गलत भएको बताए । उनले महतको कार्यशैली देख्दा तत्कालिन अर्थमन्त्री शर्मा निकै सोझो लागेको बताए । 
 
ती पूर्वअर्थसचिवले हरेक अर्थमन्त्रीहरुले गोजीबाट कागजको चिर्कटो निकालेर कम्प्युटरमा काम गर्ने कर्मचारीलाई करका दर मिलाउन दिने गरेको बताउँदै यस पटक पनि सोही संस्कारमा परिवर्तन आउने अवस्था नरहेको बताए । उनले बजेट निर्माणमा खटिएका अर्थ मन्त्रालयका उच्च अधिकारीहरु कसैलाई सरुवा गर्ने, कसैलाई भूमिका बिहीन बनाएर राख्ने, बाहिर छलफल र निर्णय गरेर मन्त्रालयमा आएर अनुमोदन गराउने जस्ता कुरा गलत संस्कारको निरन्तरता भएको बताए । 

गत बर्ष बजेट जारी हुने अघिल्लो रातमा बिचौलियाहरुलाई प्रवेश गराई करका दरहरुमा परिवर्तन गराउने, अर्थ मन्त्रालयको सीसीटीभीका फुटेज गायव पार्ने जस्ता काम भएपछि यस पटक अर्थ मन्त्रालयमा धेरै वटा यस्ता क्यामेरा जडान गरिएको छ । 

Advertisement

Advertisement