जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी आममाफीपछि रिहा हुँदा समर्थकहरुमा खुशीयाली

Advertisement

काठमाडौं । कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी भएका छन् । 

सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी दिएपछि रिहा भएसँगै उनका समर्थकहरु स्वागतका लागि कारागारमा नै पुगेका थिए । चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आई आफ्ना समर्थकहरुसँग भेट गरे । 

Advertisement

माईतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो । स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुगेका देवराज लामाले टीकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको जिकिर गरे । 

उनले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको दावी गर्दै अहिलेसम्म पनि टीकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताए । लामाले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे । 

उनले भने, ‘टीकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको छ । उहाँ घटनास्थलमा हुनुहुँदैन थियो । उहाँले निर्देशन पनि दिनुभएको होइन् । अहिलेसम्म पनि टीकापुर घटनाका दोषीहरु समातिएका छैनन् । अहिले पनि छानबिन गरौँ । हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाईका आयोगहरुको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ । उहाँ निर्दोष हुनुहुन्छ ।’

समर्थकहरुले बिरोधका लागि बिरोध गर्ने संस्कृति बढिरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताएका थिए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको उनीहरुको तर्क छ । 
 

Advertisement

Advertisement