डीएसटीमा नेपाललाई ठूलो सफलता, चर्चित अमेरिकी कम्पनी माइक्रोसफ्टले कर तिर्न लाग्यो

Advertisement

काठमाडौं। विद्युतीय सेवा कर अर्थात डीएसटी (डिजिटल सर्भिस ट्याक्स)मा नेपाललाई ठूलो सफलता हात परेको छ । विश्व चर्चित ब्राण्डहरुले डीएसटी तिर्ने प्रक्रियाको थालनी भएको छ । 

चर्चित सुचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा कर तिर्ने प्रक्रिया सुरु गरेको हो । विश्वकै धनाढ्य व्यक्तिहरुमध्येका एक बिल गेटको कम्पनीले कर तिर्न प्रक्रिया सुरु गरेको आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । 

Advertisement

कर तिर्नका लागि माइक्रोसफ्टले एक कर कार्यालयबाट प्यान नम्बर समेत लिइसकेको छ । माइक्रोसफ्टको प्यारेन्टल (सहायक) कम्पनी एनिसिएस पियरसन इन्स कम्पनीले कर दाखिला गर्ने प्रक्रिया सुरु गरेको हो ।

जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७९–८० मा गरेको कारोबार विवरण बुझाएको छ । माइक्रोसफ्टले आन्तरिक राजस्व विभागसँग इमेलमा पत्राचार गरी कुन बैकमा कसरी रकम दाखिला गर्न सकिन्छ ? भनेर सोधेको छ । स्रोतका अनुसार कम्पनीले सुरुवाती चरणमा पौने पाँच करोड रुपियाँ बराबरको कर तिर्न फारम भरेको छ ।

ठूला करदाता कार्यालयका एक कर्मचारीले भने, ‘नेपालको ईतिहासमै सबैभन्दा ठूलो बहुर्राष्ट्रिय कम्पनीले कर दाखिला गर्ने प्रक्रिया सुरु गरेको छ । यो नेपालका लागि ठूलो सफलता हो ।’ उनले डिजिटल सर्भिसमा कसरी कर लगाउने ? भन्ने कुरामा अन्योलता रहेको बेला माइक्रोसफ्ट आफै कर तिर्न आउनु ठूलो कुरा भएको बताए । 

आन्तरिक राजश्व विभागले गैरनेपालीलाई डिजिटल सेवा प्रवाहमा कर तिर्ने कार्यविधि ल्याएको थियो । सोही कार्यविधिअनुसार माइक्रोसफ्ट करको दायरामा आएको हो । विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) कार्यविधि २०७९ अनुसार नेपालमा दर्ता भए पनि नभएपनि कर तिर्नुपर्ने व्यवस्था छ।

जसअनुसार विदेशमै दर्ता भएका कम्पनीले कर दर्ताको प्रमाणपत्रको आधारमा सिधै कर कार्यालयबाट प्यान नम्बर लिन सक्नेछ । सोही प्यान नम्बरको आधारमा कम्पनीले कर दाखिला गर्न लागेको जनाइएको छ । 

डीएसटी लगाउने विषय विश्वमा क्रिप्टोकरेन्सी लगायत भर्चुअल मनीको कारोबार सुरु भएसँगै नेपालमा पनि कर कानुन बनाउनुपर्ने माग उठेको थियो । योसँगै नेपालमा सञ्चालित फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाललाई समेत करको दायरामा ल्याउन प्रयास गरिएको थियो । योसँगै नेपालमा कार्यालय नभए पनि नेपालमा डिजिटल रुपमा कारोबार गर्न फेसबुक, ट्विटर, युट्युब, नेटफिल्क्स लगायतका कम्पनीले अनिवार्य कर तिर्नुपर्ने हुन्छ । 

चालु वर्षमा यी कम्पनीले कर विवरण नबुझाएमा कर छली गरेको मानिने छ भनी कार्यविधिमा उल्लेख छ । नेपालमा कर तिर्न दर्ता भएको माइक्रोसफ्टको सहायक कम्पनीले एशिया क्षेत्रको कारोबार हेर्दै आएको छ । विशेषगरी, कम्पनीले एशियामा सुचना प्रविधि सफ्टवयर एजुकेशनको व्यापार गर्दै आएको छ । कम्पनीको कार्यालय संयुक्त राज्य अमेरिकाको ब्लुमिङटनमा रहेको छ । यसैगरी, क्यानडा, भारतसहित विभिन्न १२ देशमा शाखा कार्यालयहरु उसले राखेको छ । कम्पनीले नेपालमा पनि विभिन्न प्रविधि सेवाको कारोबार गर्दै आएको छ।  

के हो माइक्रोसफ्ट कम्पनी ? 
माइक्रोसफ्ट निगम एक अमेरिकी बहुर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर र सम्बन्धित सेवाहरू उत्पादन गर्दछ । यसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको रेडमन्ड, वासिङ्टनमा अवस्थित छ । 

माइक्रोसफ्टको सबैभन्दा प्रसिद्ध सफ्टवेयर उत्पादनहरू सञ्चालन प्रणालीको विन्डोज शृङ्खला, माइक्रोसफ्ट अफिस सुइट र इन्टरनेट एक्सप्लोरर र एज वेब ब्राउजरहरू हुन् । यसको प्रमुख हार्डवेयर उत्पादनहरूमा एक्सबक्स भिडियो गेम कन्सोल र टचस्क्रिन व्यक्तिगत कम्प्युटरहरूको माइक्रोसफ्ट सर्फेस शृङ्खला हुन् । 

माइक्रोसफ्टले सन् २०२० को फर्च्युन ५०० मा अमेरिकाको सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्ये कुल राजश्वको आधारमा २१औँ स्थान प्राप्त गरेको थियो । विकिपिडियाका अनुसार यो सन् २०१९ सम्ममा आयको आधारमा विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनी थियो । यो गुगल, अमेजन, एप्पल र मेटासँगै सबैभन्दा ठूला पाँच अमेरिकी सूचना प्रविधि कम्पनीहरूमध्ये एक हो।

यो कम्पनीको सञ्चालक विश्वकै धनाढ्य व्यक्ति बिल गेट्स हुन् । सन् ४ अप्रिल १९७५ मा बिल गेट्स र पल एलेन भएर कम्पनी खोलेका थिए । कम्पनीले सन् २०२२ मा १९८.३ अर्ब अमेरिकी डलर (दुई खर्ब ६० अर्ब रुपियाँ) कर दाखिला गरेको थियो ।   

Advertisement