कोकाकोलासँग प्रतिस्पर्धा गर्न आएको आरसीकोलालाई कोकाकोलाले नै अघि बढ्न दिएन्

Advertisement

काठमाडौं । बहुर्राष्ट्रिय ब्राण्ड कोकाकोलासँग प्रतिस्पर्धा गर्न दुई बर्षअघि नेपाल आएको अर्को बहुर्राष्ट्रिय ब्राण्ड आरसीकोलालाई कोकाकोलाको एकाधिकार अगाडि टिक्न मुस्किल परेको छ । 

आक्रामक बजार बिस्तारको योजनासहित आएको आरसीकोलालाई अगाडि बढ्न नदिन कोकाकोला बाधक भएको हो । आफूहरुको बजार विस्तार गर्न र प्रवर्द्धन गर्न कोकाकोला विभिन्न हथकण्ठा अपनाएको आरसीकोला उत्पादक कम्पनी भेञ्चुरा बोटलर्स प्रालिले जनाएको छ । 

Advertisement

उक्त कम्पनीका सीईओ कविन अर्यालले कोलाकोला आफूहरुलाई कुनै हालतमा अघि बढ्न नदिने र आफ्नो एकाधिकार कायम गर्ने गैरव्यवसायिक कार्यमा लाग्दा आफूहरुलाई गाह्रो भएको बताए । यद्यपि उनले आफूहरुको उत्पादन पूरै बन्द नरहेको र अगाडि बढ्ने योजनामा रहेको पनि जानकारी दिए । 

अर्यालले भने, ‘हामीले उत्पादन बढाउन सकेका छैनौं । केही समस्याहरु छ । बजारमा कोकसँग प्रतिस्पर्धा गर्न गाह्रो भयो । उसले के के गर्यो ? त्यता नजाउँ । हामीले सोचेजस्तो बजार लिन सकेनौं ।’ उनले उद्योगमा ठूलो लगानी भइसकेको बताउँदै आफूहरु पछि नहट्ने, नयाँ रणनीति र योजनाका साथ अघि बढ्ने तयारीमा रहेको बताए । 

दुई बर्षअघि आरसीकोला देशका अधिकांश स्थानमा पुग्नुका साथै ग्राहकले समेत कोकभन्दा बढी मन पराएपछि कोकाकोला उत्पादक कम्पनीहरु बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई हस्किएको थियो । तत्कालै उसले बजारमा आरसीकोलाई आक्रामकरुपमा आउनबाट रोक्न विभिन्न उपायहरु अपनाएको थियो । 

बजारमा ठूला कर्पोरेट हाउसहरुले आफ्नो एकाधिकार बजार कायम राख्न खर्च गरेर भए पनि प्रशासन, वितरण प्रणालीलाई आफ्नो पक्षमा पार्ने, प्रतिस्पर्धीको बारेमा गलत प्रचार गरिदिने, प्रतिस्पर्धीका कर्मचारीहरुलाई बढी तलब सुविधा दिएर तानिदिने, केही ठूला मिडियाहरुलाई विज्ञापन दिएर आफ्नो विरुद्धमा लेख्नबाट रोक्ने जस्ता कार्य गर्छन् । आरसीकोलालाई रोक्न कोकाकोलाले पनि त्यही गरेको देखिन्छ । 

भेञ्चुरा बोटलर्सले हल्का कार्बोनेटेड पेय पदार्थका माही रेन, आरसी क्यू लेमान लाइम, आरसी क्यू ओरेन्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर बजारमा ल्याएको थियो । त्यस क्रममा उसले कोकाकोलालाई उछिन्ने पनि बताएको थियो । तर बजारमा स्थापित हुन नपाउँदै कोकाकोलाका कारण आरसीकोला पछि हट्न बाध्य भयो । यसको कारखाना मकवानपुरमा रहेको छ । 

आरसी कोला पूरानो र चिरपरिचित अमेरिकी ब्राण्ड हो । यो ब्राण्डको पेय पदार्थ अमेरिकामा लोकप्रिय पनि छ । सन् १९०५ मा अमेरिकाबाट सुरु भएको यसको उत्पादनले विश्वका धेरैको मन जिते पनि नेपालमा भने बजार लिन ठूलै कसरत गर्नुपर्ने भएको छ । यता कोकाकोला उत्पादक कम्पनी भने अर्बौं रुपियाँ कर छलीको मुद्दा खेप्दै आएको छ । 

Advertisement