पहिलो पटक यौनिक अल्पसंख्यक २४ जनाले लिए ‘ट्रेकिङ गाइड’ तालिम

Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई ट्रेकिङ गाइड तालिम दिइएको छ । नेपाल माउन्टेन एकेडेमी, सस्टेनेबल टुरिजम फर लायभलिहुड रिकभरी प्रोजेक्ट र ब्लु डायमण्ड सोसाइटीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने उनीहरुलाई ३५ दिने ट्रेकिङ गाइड तालिम दिएको बताए । तालिम २४ जना यौनिक अल्पसंख्यक सहभागी थिए । उनीहरुले तालिम लिएर परीक्षा पनि दिइसकेको उनले बताए । 

Advertisement

लामिछानेले ‘इक्वल अपर्चुनिटिज फर अल’ भनेर तालिम सञ्चालन गरिएको बताउँदै सहभागीहरु तालिमबाट सन्तुष्ट रहेको बताए । यौनिक अल्पसंख्यकलाई सरकारले कानूनी पहिचान दिए पनि परिवार र समाजले भने विभेद गर्ने गरेको छ । उनीहरुलाई काम पाउन, जागिर पाए पनि निरन्तरता पाउन गाह्रो रहेको बताउँदै लामिछानेले भने, ‘नेपालमाट्रेकिङ गाइडहरु करिब २० हजार जति छन् । आजको दिनसम्म हेर्ने हो भन्ने यौनिक अल्पसंख्यक समुदायबाट एक जना पनि ट्रेकिङ गाइड थिएनन् ।’ 

नेपालमा पदयात्राका लागि आउने कतिपय पर्यटकहरुले यौनिक अल्पसंख्यक गाइडहरुको बारेमा चासो राख्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । सोही समुदायका पर्यटकहरुले आफ्नै समुदायका ट्रेकिङ गाइड खोज्ने गर्दछन् । यस तालिमबाट यौनिक अल्पसंख्यक पर्यटक बढाउन सहयोग पुग्ने लामिछानेको विश्वास छ । 

विश्वको कुल जनसंख्याको दुई प्रतिशत यौनिक अल्पसंख्यक रहेको बताइन्छ । अन्तर्राष्ट्रिय बजारमा नेपालमा यौनिक अल्पसंख्यक ट्रेकिङ गाइड छन् भन्ने सन्देश दिन सके ५–६ लाख पर्यटक सो सामुदायबाट नेपाल ल्याउन सकिने र नेपालको पर्यटन क्षेत्रलाई माथि पुर्याउन सकिने लामिछानेको जिकिर छ । 

तालिम लिएकाहरु सबैले ट्रेकिङ गाइडको काम गर्ने इच्छा राखेको र केहीले यौनिक अल्पसंख्यक समुदायलाई केन्द्रीत गरी टे«किङ कम्पनी सञ्चालन गर्ने योजना समेत बनाएको उनले जानकारी दिए । 

उनीहरुलाई दिएको ३५ दिनको तालिममा सैद्धान्तिक र व्यवहारिक गरी दुई प्रकारले प्रशिक्षित गरेको, जसमा चार दिनको व्यवहारिक सिकाईमध्ये तीन दिन ककनीमा र एक दिन ठमेलमा तालिम दिइएको थियो । उनीहरुलाई दिएको तालिम सार्थक भयो भने अरुलाई पनि खुलेर बाहिर आउन मद्दत पुग्ने लामिछानेको विश्वास छ । 

तालिममा सहभागीमध्ये परीक्षामा पास हुनेहरुले प्रमाण–पत्र पाउनुका साथै उपत्यका पर्यटन कार्यालयबाट इजाजतपत्र पाउने छन् । त्यसपछि उनीहरु आधिकारिक रूपमा ट्रेकिङ गाइड भएर काम गर्न सक्नेछन् । 

ब्लू डायमण्ड सोसाइटीका कार्यक्रम व्यवस्थापक परशुराम चौधरीले आगामी दिनमा पनि यस्ता तालिमहरु आफूहरुले अपेक्षा गरेको बताए । उनले भने, ‘हामीलाई यस्तो किसिमको तालिम चाहिन्छ । किनभने हाम्रो सामुदायका कोही कुनै ठाउँमा जागिरको लागि जाँदाखेरी जागिर नपाउने, जागिर पाइहाल्यो भने पनि विभिन्न किसिमका भेदभाव हुने, लान्छना लगाउने, एक्लो बनाइदिने, मिल्न नचाहाने जस्ता समस्या झेल्नुपर्छ । यस्ता कुराहरुले गर्दा हामी अवसरबाट बन्चित हुन्छौं । त्यस्तो अवसरबाट बन्चित रहेका हाम्रा साथीहरुलाई व्यवहारिक र ज्ञानमूलक तालिमको एक्दमै आवश्यकता छ ।’ 

तालिममा सहभागीहरुले आगामी दिनमा अझ उन्न्नत तालिम र विभिन्न देशका भाषा सिक्ने इच्छा पनि राखेको आयोजकको भनाई छ । तालिम बैशाख २३ देखि जेठ २६ सम्म सञ्चालन भएको थियो । 


 

Advertisement

Advertisement