सबै नेपालीको पहुँचमा विद्युत पुर्याउन अझै दुई बर्ष लाग्ने

Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने बताएका छन् । 

सोमबार संसदमा उनले हालसम्म ९६ प्रतिशत नेपालीहरुको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र सबैले भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउनेगरी योजना बनाइएको बताए । 

Advertisement

बस्नेतले कर्णाली र सुदूरपश्चिममा आगामी दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको दावी समेत गरे । उनले विद्युत खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पारे । 

बस्नेतले भने, ‘देशमा हालसम्म विद्युत उत्पादनको जडित क्षमता यस आवमा ४६२ मेघावाटले थप भई २७३२ मेघावाट पुगेको छ । र, ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको आजको अवस्था हो । आगामी दुई वर्ष भित्रमा सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने गरी तयार गरिएको योजनालाई कार्यान्वयन गरिनेछ ।’ 

उनले थपे, ‘विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने ग्याँसलाई स्वदेशमा उत्पादित विद्युत खपत गरी घटाउँदै लैजानेतर्फ सरकारको कार्यक्रम लक्षित छन् । र, यसबाट क्रमशः एलपी ग्याँसको आयात घटदै जानेछ भन्ने हाम्रो विश्वास छ ।’

मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए । 

Advertisement