एनआरएनए मध्यपूर्व सम्मेलन मस्कटमा सुरु, वैदेशिक रोजगार श्रमिकका समस्या मुख्य एजेण्डा

Advertisement

 काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु भएको छ । 

‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित एनआरएनएको मध्यपूर्व क्षेत्रीय परिषद्को आयोजनामा भएको सम्मेलनको रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरे । 

Advertisement

सम्मेलनको पहिलो दिन बुधबार संघको सांगठनिक एवं राष्ट्रिय समन्वय परिषद्को बारेमा छलफल भयो भने आज दोस्रो दिन र भोलि तेस्रो दिन वैदेशिक, रोजगार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा छलफल हुँदैछ ।  

मुख्यतया, मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल भइरहेको छ ।  

साथै, सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेल–जीवन बिताउनुपरेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिने संघले जनाएको छ ।  

वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ । 

Advertisement