साउन १ गतेदेखि आयातित सबै वस्तुमा अनिवार्य स्टिकर टाँस्नुपर्ने, यस्तो छ नयाँ मापदण्ड

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ देखि आयातित सबै सामग्रीहरुमा अनिवार्य रुपमा स्टिकर टाँस्नुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक ऐन, २०८० को भन्सारसम्बन्धी अनुसूचि १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुसार लेबल र स्टिकर टाँस्नुपर्ने व्यवस्था गरिएको हो । मन्त्रालयलले सूचना जारी गर्दै २०८० साउन १ पछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङ्गमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनुपर्ने व्यवस्था गरेको हो ।

Advertisement

यस मापदण्डले चोरीपैठारी गर्नेदेखि न्यून बिजकीकरण गर्ने, भ्याट बिल बिना कारोबार गर्नेसम्मका व्यापारीहरुलाई व्यापार गर्न निकै कठिनाई हुने भएको छ । 

यस्तो छ मापदण्ड
पैठारी भएको मालवस्तुको लेवलमा पैठारीकर्ता र बजार वितरकको विवरण उल्लेख हुनुपर्नेछ । जसमा पैठारीकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल, वेभसाइट उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै, मालवस्तु पैठारी भएको अवस्थामा वा बजारमा बिक्री वितरणका लागि पठाउनुअघि लेवल लगाउनुपर्नेछ । यस्तो लेवल उद्योगको कच्चा पदार्थको रुपमा पैठारी हुने मालवस्तु, औद्योगिक मेशिनरी तथा उपकरण एवं निर्माण कार्यमा प्रयोग हुने संरचनाहरु जस्ता मालवस्तुबाहेक आम उपभोक्तालाई प्रत्यक्ष रुपमा बिक्री वितरण हुने अन्य सबै प्रकारका मालवस्तुमा लगाउनु पर्नेछ ।

लेवल पैठारी भएका मालवस्तुको प्रत्येक ईकाइमा र मालवस्तुको प्रकृति, आकार तथा तौलका कारण प्रत्येक ईकाइमा लेवल लगाउन नमिल्ने भएमा त्यसपछि प्याकिङ्ग गर्दा हुने सानो इकाईमा लगाउनु पर्नेछ।

एउटै पैठारीकर्ताको धरै बजार वितरक हुनसक्ने हुँदा बजार वितरकको लेवल सम्बन्धित बजार वितरक आफैले लगाउन सक्नेछ । लेवल नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।

लेवलको दुरुपयोग हुन नदिन पैठारीकर्ता तथा वितरकले लेवल लगाएर पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्नु पर्नेछ । पैठारीकर्ता तथा वितरकले लेवलमा बारकोड, क्यूआर कोड, सुरक्षा स्टिकर लगायतका आफ्नो पहिचान राख्न सक्नेछ ।

Advertisement