भारत सीमा नाकाहरुमा अवैध चोरी पैठारी बढ्यो, नियन्त्रण गर्न सरकार कठोर बनोसः अग्रवाल

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आन्तरिक तथा वैदेशिक लगानी आकर्षण गर्नको लागि सरकारले नीतिगत स्थिरता कायम गर्न आवश्यक रहेको बताएका छन् । 

शनिवार राजधानीमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको साधारण सभामा उनले सरकारले नीतिगत स्थिरता कायम नगर्दासम्म नेपालमा लगानी नबढ्ने बताएका हुन् । उनले मुलुकभित्र वैदेशिक वा आन्तरिक लगानी बिस्तारको लागि नीतिगत स्थिरता अनिर्वाय शर्त भएको बताए । 

Advertisement

सरकारका नीति तथा कानूनहरु लगानीलाई निरुत्साहनभन्दा पनि प्रोत्साहन गर्ने खालको हुनुपर्ने बताउँदै अग्रवालले सरकारले लगानीको वातावरण बनाउन नीतिगत एंव व्यवहारिक रुपमा कानूनहरु सुधार गर्न आवश्यक देखिएको बताए । उनले मुलुकभित्र भारत सीमा नाकाहरुमा अवैध पैठारी बढेको भन्दै नियन्त्रण गर्न सरकार कठोर बन्न आवश्यक रहेको बताए । 

अध्यक्ष अग्रवालले अवैध कारोबारको कारण सरकारले राजश्व पनि गुमाइरहेको बताउनु भयो । अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक क्षेत्रमा सुधार आउन नसकेको दाबी गरे । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा लिएको खुकुलो नीतिको कारण अर्थतन्त्रका केही क्षेत्र सामान्य चलायमान हुन खाजे पनि अर्थतन्त्र पूर्णरुपमा चलायमान हुन नसकेको उनले बताए । 

अग्रवालले भने, ‘मुलुकको अर्थतन्त्रमा वाह्य क्षेत्र सुधार भए पनि आन्तरिक क्षेत्रमा सुधार आउन सकेको छैन । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा लिएको खुकुलो नीतिको कारण अर्थतन्त्रका केही क्षेत्र सामान्य चलायमान हुन खाजेको जस्तो देखिन्छ । तर अर्थतन्त्र पूर्ण रुपमा चलायमान हुन थप सुधारको आवश्यकता छ । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीहरुले भोग्दै आएको समस्या समाधान गर्न मौद्रिक नीति थप लचिलो,विकास निर्माणका गतिविधि बढाउनुपर्ने आवश्यकता छ ।’ 

उनले थपे, ‘सरकारले पुँजीगत खर्च वृद्धि गरी अर्थतन्त्रलाई गतिशिल बनाउनुपर्छ । स्वदेशी वा आन्तरिक लगानी आकर्षणको लागि नीतिगत स्थिरता अनिवार्य शर्त हो । सरकारका नीति तथा कानूनहरु लगानीलाई प्रोत्साहन गर्ने हुनुपर्छ निरुत्साहन गर्ने खालका हुनुहुँदैन । त्यसका लागि नीतिगत एंव व्यवहारिक रुपमा कानूनहरु सुधार गर्न आवश्यक छ । अवैध पैठारी नियन्त्रण गर्न सरकार कठोर बन्न आवश्यक छ । अवैध कारोबारको कारण सरकारले राजश्व पनि गुमाइरहेको छ ।’

अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीहरुले भोग्दै आएको समस्या समाधान गर्न मौद्रिक नीति थप लचिलो हुनुपर्ने, विकास निर्माणका गतिविधि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले सरकारले पुँजीगत खर्च वृद्धि गरी अर्थतन्त्रलाई गतिशिल बनाउनु पर्नेमा जोड दिए । 

Advertisement

Advertisement