वेभ नेपालद्धारा नेपालको पानी हङकङ निर्यात सुरु, अरु दर्जन देशमा निर्यात गर्न अध्ययन जारी

Advertisement

काठमाडौं । वेभ नेपाल प्रा.लि.ले हङकङ र मकाउ पानी निर्यात सुरु गरेको छ । कम्पनीले सुरुमा एक कन्टेनर पानी ती ठाउँमा निर्यात गरेको हो ।

हङकङको एसएल ट्रेडिङ कम्पनीलाई पानी बिक्री गरेको सेभ नेपालले जानकारी दिएको छ । हाल हङकङमा साधारण पानी प्रतिबोतलको मूल्य ९० देखि सय रुपियाँ रहेको छ। नेपालको पानीले हङकङमा प्रतिस्पर्धा गर्नसक्ने वेभ नेपालको विश्वास छ । 

Advertisement

हङकङ पानी निर्यात गर्नका लागि कम्पनीले हवाई मार्गबाट पानीको नमुना पठाएको थियो । त्यहाँ नेपालको पानीको मापदण्ड पूरा गर्न करिब एक वर्ष लागेको कम्पनीका सञ्चालक विकास खत्रीले बताए ।  

आफ्नो कम्पनीको पानीले हङकङ र मकाउमा स्वीकृति पाएपछि निर्यात सुरु गरेको उनले जानकारी दिए । खत्रीले भने, ‘अहिले एक कन्टेनर अर्थात ११ सय कार्टुन पानी हङकङ पठाइएको हो । यो निर्यातलाई अब बढाउँदै लैजाने योजना छ ।’

वेभ नेपालले पानी उत्पादनका लागि जर्मन र अमेरिकी प्रविधिको मेसिनहरु प्रयोग गरेको छ । पानी शुद्धीकरणमा मानिसले कतै पनि हात प्रयोग गर्दैन् । पानीको प्रशोधन सक्किएपछि प्रत्येक बोतल र जारमा भरिन्छ र प्रयोगशालामा पनि परीक्षण गरिन्छ । राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा चार रोपनी क्षेत्रफलमा वेभ नेपालको पानीको कारखाना छ । उद्योग स्थापना गर्न कम्पनीलाई दुई वर्ष समय लागेको थियो ।

खत्रीले हङकङपछि कतार, बंगलादेश, साउदी अरब, अष्ट्रेलियामा लगायतका ठाउँमा पनि पानी निर्यातको सम्भावना खोजिरहेको बताए । उनले भने ‘हंङकङ र मकाउपछि तत्काल बंगलादेश, दुवई र कतारमा पानी निर्यातका लागि अध्ययन भइरहेको छ ।’

दुवईमा एक कन्टेनर पानी पठाउनका लागि २८ सय देखि तीन हजार डलर पर्ने अनुमान सुनाउँदै खत्रीले २० फिटको कन्टेनर लैजाँदा ११ सय कार्टुन पानी अट्ने बताए । विदेशमा पानी निर्यात गर्दा तीन सय एमएल, सय एमएल र हजार एमएलको बोतलको माग हुने उनले बताए । 

खत्रीले थपे, ‘विदेशमा नेपाल सगमाथाको देश भनेर चिनिने गरेको छ । हिमाली देश भनेर पनि चिनिन्छ । नेपालको पानी स्वस्थकर र सफा हुन्छ भन्ने विश्वास छ । यसको गर्दा पनि विदेशमा नेपालको पानीको माग धेरै नै छ ।’ उनले नेपालको पानीको ब्राण्डिङ गर्न सके निर्यातको प्रचुर सम्भावना रहेको बताए । 

कतिपय देशमा नेपाली कम्पनीले पूरा नै गर्न नसक्ने मापदण्डहरु राखिएको खत्रीले बताए । यस्ता ठाउँहरुमा भने सरकारी–सरकारबीच सम्झौता गरेर काम गर्नुपर्ने उनको राय छ । 

कस्तो छ उत्पादन ?
वेभ नेपालको पानी उद्योगको मुल छ हजार ६७० फिट उचाईमा रहेको छ । पानी शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलबाट निस्किएको मुल हो। स्प्रिङ वाटरको महत्व बुझाउन सकिए भारतमा नै अधिक पानी निर्यात गर्न सकिने कम्पनीको भनाई छ । कम्पनीले प्रयोग गर्ने पानी चिसो रुचारुने ट्राउट जातको माछा पालनका लागि पनि योग्य मानिन्छ ।  

वेभ नेपालको सञ्चालकहरुमा खत्रीसहित शालिग्राम ढुङगाना, पुनकाजी महर्जन र राजु रिमाल छन् । उनीहरुले सन् २०१७ वेभ नेपाल नामक कम्पनी सुरु गरे । त्यसअघि चारै जना छुट्टाछुट्टै प्रशोधित पानीको व्यापार गर्थे । आफूहरुले यस्तो प्रशोधित पानीको व्यापार गरेको १६ बर्ष पुग्न लागेको उनीहरु बताउँछन् । 

खत्रीले १६ वर्षको अनुभवले पानी व्यवसाय क्षेत्रमा नवीन ढंगले काम गर्ने र पानी निर्यात गरेर देशका लागि पनि केही योगदान गर्ने सोच आएको बताए । उनले 

स्थानीय बजारमा पानीको व्यापार गर्दागर्दै उद्योग खोलेर स्प्रिङ वाटर निर्यात गर्ने स्थितिमा पुगेका युवा उद्यमीहरुले मुलुकको प्रतिकुल आर्थिक वातावरणका बीच पनि जोखिमपूर्ण कार्यको सुरुवात गरेका छन् । नेपालमा उद्योग व्यवसाय गर्न सरकार, प्रशासन, स्थानीय समुदाय त्यति मैत्रीपूर्ण बन्न सकेको छैन् । 

Advertisement