लुक्ला पुग्ने सडकमार्ग निर्माण सम्पन्न गर्न अझै एक बर्ष लाग्ने, बनेपछि पर्यटकलाई विकल्प

Advertisement

काठमाडौं । सगरमाथाको प्रवेशद्वार मानिने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलसम्म पुग्ने सडकमार्ग निर्माण सम्पन्न गर्न अझै कम्तिमा एक बर्ष कुर्नुपर्ने खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उक्त सडक निर्माणको काम ५५ प्रतिशत मात्रै सम्पन्न भएको बताउँदै लुक्लासम्म पुग्ने सडक मार्गको ट्राक खोल्ने काम तीब्र गतिमा भइरहेको बताए । २०७५ सालमा सुरु भएको यो सडक खोल्ने काम यसअघि नै सम्पन्न भइसक्नुपर्नेमा अझै सम्पन्न हुन सकेको छैन् । 

Advertisement

लुक्लासम्म पुग्ने सडक यातायात नहुँदा पर्यटकहरु हवाईमार्गबाट लुक्ला पुग्नुपर्ने बाध्यता छ । विश्वकै सबैभन्दा बढी जोखिमपूर्ण विमानस्थलको रुपमा लिइएको लुक्ला विमानस्थलमा हरेक बर्ष हजारौं पर्यटक पुग्ने गरे पनि ती सबै हवाई मार्गबाट जाने बाध्य छन् । गत बर्ष मात्रै ४८ हजार स्वदेशी तथा विदेशी पर्यटक जहाजबाट लुक्ला पुगेको सरकारी तथ्यांक छ । 

खुम्बु गाउँपालिकामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको आरोहण गर्न र पदयात्रा गर्न पर्यटकहरु लालयीत हुने गरे पनि यातायातको सहज विकल्प नहुँदा उनीहरुलाई बढी सास्ती र महंगो पर्ने गरेको छ । पर्यटक बढी हुने समयमा लुक्ला जाने हवाई टिकट पाउन नै मुूिस्कल पर्ने गर्दछ । पाएको अवस्थामा पनि छिन छिनमा बदली हुने मौसमले गर्दा उडान प्रभावित हुने गर्छन् । 

पर्यटकहरुलाई लुक्ला पुग्न हवाई मार्गको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न भन्दै सडक निर्माण सुरु गरिए पनि निर्माण कार्य सुस्त हुँदा सो क्षेत्रका मानिसहरुमा भने निराशा र असन्तुष्टि बढेको छ । शेर्पाले सडक बनेपछि पर्यटकहरु उडानमार्फत नै लुक्ला पुग्नुपर्ने बाध्यता नहुने भएकाले यसले धेरै राहत दिने बताए । 

उनले खुम्बुको थामडाँडाबाट चौरीखर्कसम्मको ट्राक निर्माण कार्य अहिले भइरहेको छ । अहिले वर्षा सिजन भएकाले इन्धन ल्याउन गाह्रो भइरहेको बताउँदै शेर्पाले बर्खाका कारण अरु बेलामा जस्तो काम हुन नसकेको स्वीकार गरे । यद्यपि एक बषमा निर्माण सक्ने गरेर काम गर्न आफूहरुले पनि दबाब दिइरहेको उनले बताए । शेर्पाले सडक निर्माण भइसकेपछि विद्युतीय सवारी साधन चलाउने पनि आफूहरुको योजना रहेको बताए । 

लुक्लासम्मको ट्राक खोल्न १२ करोड रुपियाँ बजेट विनियोजन गरेर बहुबर्षीय ठेक्का लगाइएको थियो । 

Advertisement

Advertisement