वसन्तपुरको नवआदर्श माविलाई अब कलात्मकरुपमा पुनर्निर्माण गरिने

Advertisement

काठमाडौं । वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यायलयमा अब सांस्कृतिक सम्पदामैत्री भवन बन्ने भएको छ । विद्यालयले हालको भवन जिर्ण भएको भन्दै त्यसलाई भत्काएर नयाँ बनाउन लागेको हो । 

विश्व सम्पदास्थल क्षेत्रमा रहेको विद्यालय भएकाले पनि यसलाई कलात्मक ढ्रगले बनाउन लागिएको काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनले भने, ‘अहिलेको विद्यालय भवन खाली हुनासाथ निर्माण कार्य सुरु हुन्छ । भवन बनाउन बजेटको अभाव हुन्न । सक्दो छिटो सम्पन्न गर्नेगरी काम अघि बढाउँछौं ।’ 

Advertisement

कोइरालाले विद्यालयको नयाँ भवन बनाउन कति समय र खर्च लाग्छ ? अहिले नै ठ्याक्कै भन्नसक्ने अवस्था नरहेको बताए । उनले ठेक्का दिएपछि मात्र जानकारी हुने बताए । महानगरले भौतिक पूर्वाधार निर्माणका लागि विनियोजन गरेको बजेट नवआदर्श माविको भवन बनाउन खर्च हुने कोइरालाले जानकारी दिए । 

अहिले नवआदर्श स्कुलले आफ्ना विद्यार्थीहरु अन्यन्त्र  सार्ने तयारी गरिरहेको छ । विद्यार्थीहरु अन्यन्त्र सारेर पढाउँदा पठनपाठनमा कुनै पनि बाधा नपर्ने कोइरालाले बताए । उनले विद्यार्थीहरु सबै एउटै स्थानमा नभई फरक फरक स्थानमा पढाई हुन्सक्ने बताए । 

नवआदर्श मावि २०१५ सालमा स्थापना भएको विद्यालय हो । यो हनुमानढोका संरक्षण क्षेत्रअन्तर्गत रहेको यो विद्यालयको भवन ६५ बर्ष पूरानो भइसकेको छ । २०७२ सालको भूकम्पले गर्दा धरासायी बनेकोले पनि भवन पुनर्निर्माण गर्नुपर्ने बाध्यता थियो । भूकम्पपछि मर्मत गरेर सञ्चालन भए पनि लामो समयसम्म कायम राख्नु जोखिमपूर्ण हुनसक्ने भएकाले नयाँ भवन बनाउन खोजिएको कोइरालाको भनाई छ । 

नवआदर्श माविले सीमान्तकृत वर्ग र न्यून आयस्तरका मानिसका छोराछोरीलाई न्यूनतम् शुल्कमा अध्यापन गराउँदै आएको छ । विद्यालयमा कक्षा १ देखि १२ सम्मको पढाई हुन्छ । हाल यो विद्यालयमा २०३ जना विद्यार्थी अध्ययन गर्छन् । 

Advertisement