स्वदेशी उद्योगीहरुले सुरु गरेको ‘नेपाली जुत्ता घर’ बिना कारण पोखराका मेयरले बन्द गरे

Advertisement

काठमाडौं । स्वदेशी जुत्ता चप्पल उद्योगीहरुले आफ्ना उत्पादनहरु बिक्री गर्न ‘पोखरा फुटवेयर विजनेस सेन्टर’को नामबाट सुरु गरेको ‘नेपाली जुत्ता घर’ पोखरा महानगरपालिकाले बिना कारण बन्द गरिदिएको छ । 

विभिन्न ब्राण्डका जुत्ता चप्पल उद्योगीहरुले एउटै फर्ममार्फत आफ्ना उत्पादन सुलभ मूल्यमा बिक्रीका लागि प्रक्रिया अघि बढाएर सम्वन्धित वडा कार्यालयको समन्वयमा शोरुम राखेपछि बिना जानकारी ‘नेपाली जुत्ता घर’बन्द गर्ने काम गरिएको व्यवसायीको गुनासो छ । 

Advertisement

पोखरामा सस्तो मूल्यमा जुत्ता चप्पल बेच्न १० वटा कम्पनीहरु मिलेर जुत्ता घर खोलेको तर बिना जानकारी एक्कासी मंगलबार बन्द गरिएबाट आफूहरु आश्चर्यमा परेको बेम्बो सुजका सञ्चालक सविन कार्कीले बताए । 

उनले भने, ‘एउटै कम्पनीमार्फत नेपाली जुत्ता घर राख्छौं भन्दा हुँदैन्, सबैले छुट्टाछुट्टै अनुमति लिनुस् भन्नुभयो । हामीले पनि ठिकै छ भनेर दर्ता प्रक्रिया अघि बढायौं । एउटाले त प्रमाणपत्र पनि पाइसक्नुभयो । बाँकीले पनि आवश्यक कागजाजहरु बुझाएर राजश्व बुझाइसकेका छौं । तर प्रमाणपत्र दिन उहाँहरुले नै विभिन्न कारण देखाएर ढिलो गर्नुभयो । वडाध्यक्षसँग कुरा गर्दा पसल राख्दैगर्नुस् । दर्ता हुँदैगर्छ । कुनै समस्या हुँदैन भनेपछि हामीले पसलहरु राख्यौं । आज एक्कासी बन्द गरियो भनेर खबर आएपछि हामीलाई आश्चर्य लाग्यो ।’ 

उनीहरूले दिएको निवेदनमध्ये विकास खत्रीको नाममा ‘नेपाली जुत्ता घर’ विधिवत दर्ता भइसकेको छ भने बाँकीको दर्ता हुने प्रक्रियामा छ । एउटै प्रक्रियाबाट निवेदन दिएकोमा एउटालाई मात्रै दर्ता प्रमाणपत्र दिने, अरुलाई झुलाएर राख्ने कुरा आफूहरुले बुझ्न नसकेको बताउँदै कार्कीले वडा कार्यालय नजिकै रह्को नेपाली जुत्ता घरबाट वडाध्यक्ष सबै जानकार हुँदाहुँदै महानगरपालिका आएर जुत्ता घर बन्द गराउने कुरा न्यायोचित नभएको बताए । 

उनले भने, ‘खास त पहिला हामी एक महिनाको लागि मेला लगाउने भनेर अनुमति लिन गएका थियौं महानगरमा । मेयरले के भन्नुभयो भने मेला नलगाउनुस् । विरोध पनि आउँछ । बरु शोरुम खोल्दिनुस् । मैले के सहयोग गर्नुपर्छ ? गर्छु भन्नुभयो । उहाँले भनेअनुसार नै स्थायी शोरुम बनाउन सुरु गर्यौं । त्यहीअनुसार लगानी पनि गर्यौं । एउटै कम्पनीमा नहुने भनेपछि छुट्टाछुट्टै दर्ता गर्न गयौं । एउटा तत्कालै दर्ता भयो । अरुको दर्ता प्रमाणपत्र लिने बेलामा सफ्टवयरले काम गरेन भनेर पाँच–सात दिन झुलाइदिनुभयो । वडाध्यक्षलाई यो सबै थाहा छ । फाइल वडामै छ ।  हामीले शोरुम राख्न खोजेको घरको ट्रसको नक्सा पास रहेनछ । पोखरामा नयाँ मापदण्डअनुसार गर्ने भनेर सबैको अभिलेखीकरण चलिरहेको रहेछ । नयाँ मापदण्डअनुसार कसैको पनि नपर्ने । वडाध्यक्षले यो अभिलेखीकरण केही दिनमा टुंगिन्छ । टुंगिने बित्तिकै तपाईंहरुको शोरुम पनि दर्ता गरिदिउँला । अहिले पसल खोल्दैगर्नु । केही समस्या पर्दैन् भन्नुभयो । सोहीअनुसार सुरु पनि गरियो । खोलेको चार–पाँच दिन मात्रै भएको थियो । आज आएर बन्द गरिदियो बिना सुचना । 

यस जुत्ता घरमा १० जना युवाले एक करोडभन्दा बढी लगानी गरेर शोरुम खोलेका हुन्, जहाँ करिव ४० जनाले रोजगारी पनि पाएका थिए । जुत्ता घरको यही साउन ५ गते उद्घाटन पनि गरिएको थियो । यसरी एक्कासी बन्द गरिनुमा स्थानीय जुत्ता चप्पल व्यापारीको मेयरलाई दबाब हुनसक्ने अनुमान गरिएको छ । 

जुत्ता घरमा मानिसहरुको आकर्षण निकै बढ्न थालेपछि महानगरले ताला लगाउनु निकै अर्थपूर्ण देखिन्छ । मेयर धनराज आचार्यको मौखिम आदेशमा पोखराको नेपाली जुत्ता घरमा तालाबन्दी गर्ने काम भएको जानकारी आफूहरुले पाएको व्यवसायीहरुको भनाई छ । 

पोखरा फुटवेयर विजनेस सेन्टर दर्ता नभएकाले ताला लगाएको महानगरले जनाए पनि शोरुम राख्ने हरेक व्यवसायीले आफ्नो व्यवसाय दर्ताका लागि तोकिएको राजश्व बुझाएर निवेदन दिएका छन् । हरेक कम्पनीले महानगरको मापदण्डअनुसार दर्ता भइसकेपछि पोखरा फुटवेयर विजनेस सेन्टरको नाममा पनि दर्ता गर भन्नु र दोहोरा रकम तिराउन खोज्नु गैरकानुनी र बदनियतपूर्ण कुरा हो भन्दै १० जना जुत्ता चप्पल उद्योगीहरुले यो खालको मानसिकताले पोखरामा कसरी व्यवसायिक वातावरण बन्छ ? भनेर प्रश्न गरेका छन् । 

पोखराको नेपाली जुत्ता घरमा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वर्ल्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन ब्राण्डका जुत्ता र चप्पल बिक्रीका लागि राखिएका थिए । अरु व्यवसायीको स्वार्थमा शोरुम राख्न नदिनु थियो भने किन पहिले नै शोरुम राख्न सल्लाह दिइयो ? भन्दै व्यवसायी कार्कीले यसले आफूहरुको ठूलो लगानी जोखिममा परेको बताए । 

पोखरामा रहेको जुत्ता व्यवसायी संघले महानगरसहित पोखरा उद्योग वाणिज्य संघमा उक्त नेपाली जुत्ता घर बन्द गराउन दबाब दिएको समाचार छ । कार्कीले पक्षपातपूर्ण व्यवहार गर्ने कुराले पोखरामा नयाँ व्यवसायमा लगानी आउने संभावना कम भएर जाने बताउँदै स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बेला उल्टै निरुत्साहित गर्ने कुराले आफूहरुलाई दुखित बनाएको बताए । 

Advertisement