निर्देशक रामहरि ढकालको संवेदी नाटक ‘चक्र’ मण्डला थियटरमा मञ्चन जारी

Advertisement

काठमाडौं । नाटक साहित्यको एउटा विधा हो । नाटकमा कुनै पनि विषयमा कथा वा कहानी लेखिन्छ । यही नाटक साहित्यमा एक अब्बल निर्देशक हुन् रामहरि ढकाल । उनीद्धारा निर्देशित एक संवेदी नाटक हो  ‘चक्र’। 

‘चक्र’ हाल मण्डला थिएटरमा मञ्चन भइरहेको छ । यही गत साउन ४ देखि सुरु भएको नाटक साउन १४ सम्म चल्नेछ । नाटकबारे बिहीबार उनले चर्चा गरे । उनले चक्र निकै अनौठो र पृथक नाटक भएको बताए ।

Advertisement

यसमा कुनै पनि कलाकारको अभिनय छैन् । दर्शक नै नाटकका कलाकार हुन् । उनले भने, ‘दर्शकहरूलाई हिँड्ने ठाउँ बनाइदिएँ । आँखामा चस्मा दिएँ । खुट्टामा हिँड्दा चर्याक चर्याक टाँसिने कपडाको जुत्ता दिएँ । एक अर्कामा टाँसिने ज्याकेट लगाइदिएको छु । पन्द्र जनालाई एकै पटक एउटा अपरिचित स्थानमा राखिदिँदा उनीहरूले एक घण्टाको यात्रामा जे जे अनुभव गर्छन, आफ्नो जिन्दगीको भोगाइलाई जसरी सम्झिन्छन्, त्यो नै नाटक हो ।’ 

चक्रमा ९८ प्रतिशत केही पनि देखिँदैन भन्दै ढकालले नाटकमा पाँच ज्ञानेन्द्रीयले जे महशुस गर्न सक्छ, त्यही नै नाटकले दिन खोजेको सन्देश  हो भने । उनले निर्देशन गरेका थुप्रै नाटक थियटरमा चल्दै आएका छन् । तीमध्ये ढकालको सेन्सरी नाटक यो सहित पाँचौ रहेको बताए । उनको यस क्षेत्रमा करिब २० वर्षको लामो अनुभव पनि छ । हाल ढकाल नर्बेमा बस्दै आएका छन् ।  

उनी हरेक पटक नेपाल आउँदा यस्तै केही नयाँ स्वादका सेन्सरी र छुटै परिवेशका नाटक लिएर आउने गर्छन्  । ढकालको यस्तो नाटकले स्रोतालाई केही नयाँ कुराहरु सिकाउने गरेको बताउँदै नयाँ सन्देश दिन पाउँदा आफूलाई पनि छुटै आनन्द आउने बताए । 

नाटक चक्रबारे ढकालले थपे, ‘जीवन र संघर्ष एक सिक्काका दुई पाटा हुन्  । संघर्ष रहेसम्म जीवन रहने छ । जीवन जिउनको लागि पर्याप्त मात्रामा शारीरिक र मानसिक उर्जाहरु प्रवाह भइरहनुपर्छ । अन्यथा जीवन नरहन पनि सक्छ । जब दुवै एकसाथ हुन्छन्, त्यहाँ गति सिर्जना हुन्छ । त्यो गतिले जीवनमा चमकहरू सिर्जना गर्दछ । ती चमकहरू जीवनको गाडी चलाउने इन्धन हुन् । संघर्ष बिना जीवन एक निर्जिव वस्तु जस्तै हुनेछ । चक्र, जीवन र संघर्षको अभिव्यक्ति हो ।’ 

Advertisement