सफा हिमाल अभियान शुरु, १० टन फोहोर र ५ वटा शब संकलन गर्ने लक्ष्य

Advertisement

काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत आजदेखि अभियान शुरु गरेको छ । बिहीवार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् । 

आजदेखि शुरु भएको अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताइएको छ । ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे । उनले हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रुपमा लिने गरिएको बताए । 

Advertisement

जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्व रहेको बताउँदै शर्माले पछिल्लो वर्षहरुमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोर पनि थुप्रिन थालेकाले सरसफाईमा ध्यान पु¥याउनुपरेको बताए । उनले नेपाल सरकारको नीति अन्तर्गत नेपाली सेनाले यसको जिम्मेवारी लिएको पनि बताए । 

नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताए । उनले सरकारको वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम हिमालहरुको स्वच्छता कायम गर्ने उद्देश्य अनुरुप सफा हिमाल अभियान २०२४ गरिएको पनि बताए । 

देउजाले मानिसका कारण हिमालहरुमा धेरै फोहोर थुप्रिइरहेका कारण सफा गरेर हिमालको स्वच्छता कायम गर्नुपर्ने बताए । 

Advertisement

Advertisement