किसानसँग कुरा मिलेपछि रोक्किएको शिखर इन्स्योरेन्सको केरा बीमालेखले निरन्तरता पायो

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले शिखर इन्स्योरेन्स कम्पनीलाई केरा बीमालेखलाई निरन्तरता दिन निर्देशन दिएको छ । केरा किसानहरुले मापदण्डअनुसार बीमा गर्न आनाकानी गरेपछि कम्पनीले केरा बीमालेख बन्द गरेको थियो ।  

किसान र कम्पनीबीचको विवाद समाधान गर्दै शुक्रबार प्राधिकरणले सो बीमालेखलाई निरन्तरता दिने निर्णय गरेको हो । शिखर इन्स्योरेन्स कम्पनी र केरा व्यवसायीबीचको पूरानो विवाद सहमतिमा परिणत भएको प्राधिकरणले जानकारी दिएको छ । कम्पनीले बीमाबाट हुने आम्दानीको तुलनामा त्यसबाट हुने जोखिम नै धेरै हुने भन्दै केरा बीमालेख बन्द गरेको थियो ।

Advertisement

चितवनमा ठूलो संख्यामा केरा खेती हुने भए पनि त्यसको बीमा गरेर जोखिम बहन गर्न भने अन्य बीमा कम्पनीहरु पछि हट्दै आएका छन् । अन्य कम्पनीहरु पछि हटे पनि शिखरले विगत पाँच वर्षदेखि आकर्षक रुपमा केरा खेतीको जोखिम बहन गर्दै आएको थियो । 

तर, तराई क्षेत्रमा निकै ठूलो आँधिहुँरीको जोखिम कुनै पनि बेला आउने र केरा खेतीलाई एकसाथ सोत्तर बनाउन थालेसँगै केरा बीमामा कम्पनीहरु हच्किँदै आएका थिए । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले केरा बीमालेखले निरन्तरता पाएको बताए । उनले भने, ‘पहिलेबाटै बीमा हुँदै आएको थियो । बिचमा केही प्राविधिक कारण रोक्किएको हो । आजबाट फेरि किसानहरुले बीमा गर्ने भएका छन् । हामीले पनि बीमा कम्पनीहरुलाई बीमा गर्नु भनेका छौं । आजै शिखर इन्स्योरेन्सले पनि अर्थमन्त्रालयका सहसचिवहरुसँग भेट गरी छलफल गरेको थियो ।’

यसअघि हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि ठूलो संख्यामा रहेको बाराको निजगढ क्षेत्रको केराको बीमा लिन हिच्किचाएको थियो । प्राधिकरणले निर्देशन दिएसँगै उसले ठूलो संख्यामा रहेको केरा खेतीको बीमा गर्ने जिम्मा लिएको थियो । त्यस क्रममा प्राधिकरणको टोली अनुगमन गर्न निजगढ पनि पुगेको थियो । अनुगमनपछि केरा बीमाको समस्या समाधान भएको प्राधिकरणको भनाई छ । 

Advertisement