एकै जनालाई धेरै बीमा पोलिसि बेच्न पाउनुपर्छः बीमक संघ, तर गणना गर्न पाइँदैन्ः प्राधिकरण

Advertisement

काठमाडौं । बीमा क्षेत्रमा एउटै व्यक्तिले धेरै बीमा गर्ने र त्यसलाई गणना गर्ने पाउने कि नपाउने भन्ने कुरा पेचिलो बन्दै गएको छ । एउटै व्यक्तिले एक दर्जनसम्म बीमा गर्ने र त्यसैको आधारमा बीमाको विस्तार भएको भन्ने आंकडामाथि गम्भीर प्रश्न उठेपछि यो जटिल विषय बनेको हो । 

यस्तो डुप्लिकेशन (दोहोरोपना)लाई समायोजन गर्न नेपाल बीमा प्राधिकरणले जम्मा पाँच प्रतिशतलाई घटाएर गणना गर्ने गरे पनि यस्तो दोहोरोपना निकै धेरै हुनसक्ने अनुमान गरिन्छ । आर्थिक बर्ष सम्पन्न भएर नयाँ सुरु हुने क्रममा रहेक बर्ष यो विषयमा आउने र सेलाउने गर्छ । बीमाको पहुँच बढ्यो भनेर बीमा कम्पनीका सीईओदेखि प्राधिकरणको नेतृत्वले गर्व गर्दै आएको बेला डुब्लिकेशनको प्रश्न आएपछि अनुत्तरित हुने गरेका छन् । 

Advertisement

प्राधिकरणले आंशिकरुपमा भए पनि दोहोरिएका बीमालाई गणना नगर्ने नीति लिएको छ । यस कुराप्रति बीमा कम्पनीहरु खुशी देखिन्नन् । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले दोहोरिएका नदोहोरिएका पोलिसिलाई एउटै भाँडामा राखेर गन्न नहुने बताउँछन् ।

उनले बीमा कम्पनीहरुले एकै जनालाई धेरै वटा बीमा पोलिसी बेच्न नमिल्ने र कुनै व्यक्तिले गरेको ठूलो जीवन बीमा र सानो रकमको तेस्रो पक्ष बीमालाई एउटै आधारमा गणना गर्न नमिल्ने बताए । बीमाको पहुँचको गणना संख्याबाट मात्र नभई बीमाको गुणस्तरबाट समेत नियमन हुने पोडेलले बताए । 

उनका अनुसार एकै व्यक्तिलाई गरिएका धेरै वटा बीमालाई समायोजन गर्न केही प्रतिशत बीमालाई घटाएर मात्रै गन्ती गर्ने काम भएको छ । पौडेलले भने, ‘केही बीमा पोलिसि मात्र दोहोरिने सम्भावना हुने भएकाले हामीले पनि पोलिसिको कूल गणनामा करिब पाँच प्रतिशत पोलिसिलाई घटाएर एडजस्टमेन्ट गर्ने गरेका छौं । यसले गर्दा कहिलेकाहीं दोहोरिहालेको बीमा त्यसबाटै कभर हुन्छ ।’ बीमाको सबै गणनाको मुख्य भूमिका बीमांकी (एक्चुरी)को हातमा हुने उनले बताए । 

यता, जीवन बीमक संघले भने बीमा पोलिसी दोहोरिने समस्या नेपालमा मात्र नभई विदेशमा समेत रहेको उदाहरण दिँदै बीमितले बीमा गर्न चाहेको बेलामा बीमा कम्पनीले पोलिसि बेच्नुपर्ने बताएको छ । 

संघका उपाध्यक्ष पोषकराज पौडेलले भने, ‘केही मात्रामा जहाँ पनि हुने कुरा हो यो । अत्याधिक भयो भने छुट्टै कुरा हो । कुनै पनि व्यक्तिले म बीमा गराउँछु, पैसा तिरेर सेवा लिन्छु भन्दा जति पनि बीमा गराउन पायो । सेवा लिन पायो । यसमा अर्को कुरा चाहिं एउटै व्यक्तिले धेरै वटा बीमा लिँदा बीमाको पहुँच धेरै जनामा पुग्यो भन्न अल्ली नमिल्ला भन्ने कुरा उठेको पाइन्छ । त्यसमा पनि अन्य देशमा १० वटासम्म पोलिसि एकै जनाले लिने गरेका छन् । जापानमा पनि सरदरमा एक जनाले आठ वटासम्म बीमा पोलिसि लिन पाउने व्यवस्था गरिएको छ ।’ उनले नेपालमा भने दोहोरोपना धेरै नरहेको जिकिर पनि गरे । 

Advertisement