‘जीडीपी ५२०० अर्बको छ, शिक्षामा बाहिरिएको ७०–८० अर्ब रोक्नुपर्छ भन्नु संकुचित सोच हो’

Advertisement

विदेशमा अध्ययनका लागि विद्यार्थीहरुलाई पठाउने शैक्षिक परामर्श व्यवसायीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका शेषराज भट्टराई विगत डेढ दशकदेखि यस व्यवसायमा छन् । कोरोना महामारीपछि केही निष्क्रिय जस्तो बनेको इक्यानलाई सक्रिय बनाउनुपर्ने चुनौति उनीसामु छ । अर्बिट इन्टरनेशनल एजुकेशनका सञ्चालक रहेका भट्टराईसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सारः 

विगतमा प्रकाश पाण्डेको कार्यकालमा त खासै काम भएको देखिन्न्र । तपाईंले चाहिँ कसरी के के काम गर्ने योजना बनाउनु भएको छ ?
विगतमा प्रकाश पाण्डेको कार्यकालमा काम नभएको भन्ने कुरा गतल हो । प्रकाश पाण्डे इक्यानका अध्यक्ष पदमा हुँदा म उपाध्यक्ष थिएँ । प्रकाश पाण्डेको साथ र सहयोगले नै मैले चुनाव जितेको हो । काम नभएको भए चुनाव जित्न गाह्रो थियो । हाम्रो एजेण्डाहरु जहिले पनि अन्तर्राष्ट्रिय शिक्षासँग सरोकार राख्ने, कुनै पनि विषयवस्तुमा सबैभन्दा पहिला परामर्श व्यवसाय क्षेत्रलाई नै अगाडी बढाउँदै लाने, नीतिगत तहमा व्यवसायिक कन्सल्ट्यान्सीहरुको तालिम र विकासका काम गर्ने गर्दै आएका थियौं । यस्ता धेरै विषय वस्तुहरुमा पनि पाण्डेको कार्यकालमा धेरै  राम्रा काम भएका  थिए । इतिहासमा धेरै काम भएकोमध्ये प्रकाश पाण्डेको कार्यकाल पनि हो । सोही कामहरुलाई अझै तीब्रता दिने अबको मेरो योजना छ । मैले तीन प्रकारले इक्यानलाई नेतृत्व  गर्ने सोच बनाएको बताएको छु । पहिलो नीतिगतरुपमा राज्य र राज्यमा संयन्त्रहरुसँग मिलेर काम गर्ने र शिक्षा मन्त्रालयबाट शैक्षिक परामर्श क्षेत्रलाई कसरी अनुमोदन गर्ने ? कसरी अगाडी बढाउने? भन्ने सन्दर्भमा जुन ढंगको काम हुनुपर्ने हो, त्यो काम भएको छैन् । नयाँ शिक्षा ऐनमा पनि विभिन्न विषय वस्तुहरु उठेका छन् । धरौटीका विषयवस्तुहरु आएको छ । यस विषय काम गर्ने योजना छ । दोस्रो स्वाभाविक रुपमा शैक्षिक परामर्श संस्थाहरुको व्यवसायिक विकासका कुरा अघि बढाउने हो । तालिम, सशक्तिकरण यस्ता धेरै कुराहरुको कार्यक्रममा जोडिने हो । यस्ता कार्यक्रमहरु मेरो कार्यकालभरी हुनेछ । इक्यानको केन्द्रमा मात्र नभएर, म अध्यक्ष भइरहँदा  शाखाहरुको विषयमा पनि कन्सल्ट्यान्सीहरुको विकास कसरी गर्ने ? भन्ने कुरा अगाडी बढाउने छौं । कन्सल्ट्यान्सी भनेको सकारात्मक पक्ष हो भन्नेतर्फ लानुपर्छ । तेस्रो भनेको कन्सल्ट्यान्सीलाई कसरी जिम्मेवारी बनाउने ? कसरी यसको सेवा सरल र भरपर्दो बनाउने भन्ने सवालमा पनि म लाग्नेछु । 

Advertisement

इक्यान बढी व्यवसायिकभन्दा पनि राजनीतिक भयो, पार्टीकरण भयो भन्ने आरोप पनि छ । किन व्यवसायिक बनाउनुहुन्न ?
यो गलत आरोप हो । किन भने यस पटकको चुनावको नतिजाले पनि, मेरो चयनले राजनीतिक होइन्, एउटा  व्यवसायिक व्यक्ति आएको छ भन्ने सन्देश दिएको छ । म आफैमा पनि एउटा ठूलो व्यवसायी हो । यो संस्थालाई संस्कार, बुझेको व्यक्ति चाहिन्छ भनेर साथीहरुले मत दिए र मैले जितेको हो । इक्यानको टिममा धेरै साथीहरु गैरराजनीतिक चरित्रको भएको हुँदा उनीहरुको छनोटमा व्यवसायिक, मर्यादित र न्यायोचित काम गर्ने, जोसँग फरक क्षमता छ, उसलाई नै जिताउने चेस्टा गरिएको हो । 

नेपाली विद्यार्थी बाहिर पठाउने कुराको पछिल्लो समयमा विरोध बढ्दै गएको छ । देशबाट युवाहरु र अर्बौं रकम बाहिर पठाउने कुरा रोक्नुपर्छ भन्ने आवाज आउन थालेको छ । के भन्नुहुन्छ ?
यो एकदमै संकुचित सोच हो । अहिले अन्तर्राष्ट्रिय शिक्षाको प्रचलन विश्वभरी नै छ  । यस पृष्टभूमिलाई हामीले हेर्ने हो भने नेपालबाट अन्तर्राष्ट्रिय शिक्षाका लागि जाने विद्यार्थीहरुको संख्या त्यति आत्तिनुपर्ने अवस्था होइन् । शिक्षा मन्त्रालयको तथ्याङ्कमा कोरोनाभन्दा पछि अलि बाहिर जाने विद्यार्थी बढेको देखिएको छ । राज्यको जीडीपी (कूल गार्हस्थ उत्पादन)लाई हेर्ने हो भने पाँच हजार दुई सय अर्बको जीडीपीमा शिक्षाका लागि ७०–८० अर्ब बाहिरिनुलाई ठूलो रुपमा हेर्नुपर्दैन् । विदेश पढ्न जाने विद्यार्थीले पठाएको रेमिटान्सले पनि आज देशलाइ जोगाएको छ । हालको परिवेशमा विदेश पढ्न जाने विद्यार्थीको कुरा गर्दा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, जापान मुख्य हुन् । नेपाली विद्यार्थीहरु ठूला देशका ठाँउ ठाँउमा पुगेर उनीहरुले प्रगति गरिरहेका छन् । त्यसको श्रेय केही हामीलाई  पनि जान्छ । एउटा विद्यार्थीले संसारको उत्कृष्ट विश्वविद्यालयमा सीप, कौशल र शिक्षा सिकेर देश विकासको लागि उपस्थित हुन्छ भन्ने कुरालाई राज्यले हल्का रुपमा लिनुहुँदैन् । 

नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा विकास गरी विदेशी विद्यार्थी ल्याउन सकिन्न ? 
नेपालको प्रशासक र शासकहरुको सोचाईमा परिवर्तन  हुनुपर्छ । यदी यसो भएमा नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा विकास गरी विदेशी विद्यार्थी ल्याउन नसकिने होइन् । केही विश्वविद्यालयमा विद्यार्थी नआएका होइनन् । नेपालमा विद्यार्थी भिसा लिएर पढन आउने विदेशीलाई हाम्रो देशले विद्यार्थी भिसा दिन सक्दैन् । नेपाललाई शिक्षामैत्री बनाउन पनि आग्रह गरेका छौं । खोज अनुसन्धान गर्ने संस्थाहरु नेपाल आउन आग्रह पनि गरेका छौं । कसैले पनि प्रतिक्रिया दिएको छैन् । नेपाली समाजलाई आजको दिनमा हेर्दा बुद्धको जन्मस्थलको रुपमा विश्वव्यापीरुपमा परिचित छ । सबैभन्दा ठूलो अनुसन्धानको पाटो नै नेपाल हुनसक्छ । सगरमाथा हिमालहरु, अर्गानिक खाद्यान्रलाई  शैक्षिक पाटोबाट विश्व चिनाउन सकिन्छ । इक्यानले हरेक पटक विद्यार्थी मात्र बाहिर पठाउने होइन्, बाहिरबाट पनि विद्यार्थी ल्याउन सक्छन् भन्ने सन्देश सम्बन्धित् निकायसम्म पुराउँदै आएको छ । तर सुनिदिने कस्ले ? 

पढ्नका लागि जाने मुलुकहरुमा नेपाली विद्यार्थीका लागि कस्तो वातावरण छ अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा ?  
पढ्नका लागि जाने नेपाली विद्यार्थीका लागि धेरै राम्रा वातावरण छ । नेपाली विद्यार्थीहरुलाई धेरै कुराले सुविधा छ । कुनै कन्सल्ट्यान्सीले विद्यार्थीहरुलाई बाहिर पढाउन पठाउँदा विद्यार्थी  र अभिभावकहरुलाई उचित परामर्श दिनुपर्छ । यसले गर्दा विद्यार्थीहरुलाई बाहिरी मुलुकमा दुःख पाउँदैनन् । 

अधिकांश विद्यार्थीको आकर्षण अष्ट्रेलिया नै बढी किन हुन्छ ?
अष्टे«लियामा संसारको उत्कृष्ट शैक्षिक प्रणाली छ । सीप विकासका लागि शैक्षिक शिक्षा रहेको छ । अर्को महत्वपूर्ण कुरा त्यहाँ पढ्दा काम पनि गर्न पाइने हुँदा अधिकांश विद्यार्थीको आकर्षण अष्टे«लियामा नै बढी हुने गरेको हो । सामाज चौंथो औद्योगिक क्रान्तितर्फ अघि बढेको छ । संसारका शैक्षिक प्रणाली र विकास धेरै माथि पुगिसकेको छ । हामी घोकन्ते विद्याले गर्दा धेरै पछानी छौं । अष्टे«लियाले विद्यार्थीको उमेर अनुसार क्षमता विकास गरी सीप सिकाउँछ ।  

पछिल्लो समय अधिकांश कन्सल्ट्यान्सीको सक्सेस रेट हेर्ने हो भने राम्रो छैन् । कन्सल्ट्यान्सी भने बढेको बढ्यै छन् । किन होला ? 
कन्सल्ट्यान्सीको सक्सेट रेट भन्ने हुँदैन् । इक्यानमा पाँच सय वटा कन्सल्ट्यान्सीको विषयमा बोल्न सक्छु । समग्र देशकै बारेमा हेर्ने हो भने नेपालबाट जाने विद्यार्थीहरु र गन्तव्य मुलुकहरुमा रहेको विद्यार्थीहरुको तथ्याङ्कले आजको दिनसम्म धेरै राम्रो प्रगति भएको देखिन्छ । क्यानडा अभूतपूर्व छ । अझै पनि नेपाली विद्यार्थीहरुलाई क्यानडाले भिसा दिएको छैन् । अमेरिका, जापान, बेलायत पनि राम्रो छ । अष्टे«लियाको हकमा थोरै विद्यार्थी तलमाथि हुनु भनेको स्वाभाविक नै हो । कोरोनापछि अष्टेलिया पढ्न जाने विद्यार्थीको संख्या बढेको छ । 

‘फेक डकुमेन्ट’ बनाएर प्रक्रिया गर्ने कुरामा कडाई भए पनि अझै रोक्किएको देखिन्न । यसलाई नियन्त्रण गर्ने तपाईंको योजना के छ ? 
‘फेक डकुमेन्ट’को गुनासो वा समस्या आएमा हामी सम्बन्धित् निकायलाई कारबाहीका लागि सिफारिस गछौं । त्यस्ता कुराहरुलाई निरुत्साहित गर्ने गराउने काम गरिरहेका छौं । म महासचिव हुँदा यस्ता चिट्ठीपत्र आउँदा कारवाही पनि भएका छन् । यस्ता कुरामा विद्यार्थी, अभिभावक, कन्सल्ट्यान्सी पनि सचेत हुनुपर्छ । 

भिसा प्रक्रिया, छात्रवृत्ति, डकुमेन्टेशनको कुरामा धेरै खालको जटिलता र अन्योलता देखिन्छ विद्यार्थीमा । यसमा सहजीकरण गर्न इक्यानले के गर्दैछ ? 
इक्यानसँग आवद्ध भएका  शैक्षिक परामर्श सेवा प्रदायकहरुको हकमा राम्रोसँग काम गर्दै गएका छन् । प्रक्रियागत ढंगबाट वास्तविक विद्यार्थी र अभिभावकबीच क्षमता कति छ ? शैक्षिक प्रमाणपत्र र आर्थिक अवस्था कस्तो छ ? भन्ने कुरामा परामर्शदाताले बुझाउनुपर्छ । विद्यार्थी र अविभावक पनि सचेत हुनुपर्छ । वैदेशिक शिक्षा भनेको जोकोहीका लागि होइन् । कक्षा १२ सक्नासाथ बाहिर जानुपर्छ भन्ने मानसिकता हटाउनुपर्छ । नेपालमा कक्षा १२ पढेका विद्यार्थी ठूलो संख्यामा छन् । तीमध्ये सबैले बाहिर जान्छु भन्ने कुरा गलत हो । अभिभावकले ऋण खोजीखोजी विद्यार्थीलाई बाहिर पठाउनु पर्दैन् । क्षमता छ भने बाहिर पठाए हुन्छ । नेपालमा पनि गुणस्तरीय शिक्षा छ । 

गएको कोभिड महामारीका धेरै कन्सल्ट्यान्सी बन्द भए भन्ने सुनिन्थ्यो । कति बन्द भए ? संकटमा परेकाहरुलाई उठाउन इक्यानले केही पहल गर्यो कि गरेन् ? 
कोरोना महामारीको समयमा नेपाल राष्ट्र बैंकले नै शैक्षिक परामर्श क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखेको थियो । इक्यानले कोरोनाको समयमा के गर्न सकिन्छ ? व्यवसायी र उद्यमीहरुलाई कसरी साथ दिने ? कोरानाबीमा सबै कर्मचारीहरुलाई कसरी उपलब्ध गराउने ? भनेर काम गरेको थियो । परामर्श सेवा व्यवसायीहरुलाई कसरी सक्रिय बनाइराख्ने ? भनेर इक्यानले काम गर्दै आएको छ । इक्यानमा आबद्ध संस्थाहरु बन्द हुने घट्ना निकै कम छन् ।

यस पटक सरकारले विदेश जाने विद्यार्थीहरुलाई कर बढायो । यसमा तपाईंको विरोध छ कि समर्थन ?
सरकारले विदेश जाने विद्यार्थीहरुलाई कर बढाएकोमा हाम्रो विरोध छ । विद्यार्थीहरुको पैसामा तीन प्रतिशत कर बढाउनु भनेको विद्यार्थी र अभिभावकलाई मारमा पार्नु हो । सरकारले कर थोपर्न पाइँदैन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लोककल्याणकारी कोष बनाएर विद्यार्थीलाई अगाडी बढाउनुपर्ने हुन्छ ।

तपाईंको आफ्नो संस्था अर्बिटको अवस्था के छ ? विद्यार्थीहरुलाई सुविधा र आकर्षण के के दिनुभएको छ ? 
अर्बिट इन्टरनेशनल एजुकेसन निकै पूरानो संस्था हो । नेपाली विद्यार्थीको हकमा जो बाहिर पढ्न जान्छन्, सही परामर्श र भाषा प्रशिक्षणको लागि हामीले काम गर्दै आएका छौं । यसको लागि दुई दशकको अनुभव छ । नेपाली समाजमा दुई दशकअघि पढ्न जाने भन्ने कुरा कल्पना मात्र थियो । दुवई, कतार जाने कुरा पनि निकै ठूलो थियो । त्यस बेलाको समयमा नेपाली विद्यार्थीहरु पनि बाहिर पढ्न जान सक्छन भन्ने ढंगबाट काम गर्दै गयौं । आजको दिनमा मध्यमवर्गीय व्यक्तिले पनि अष्ट्रेलिया र अमेरिकामा पढ्न जाने सपना देख्न सक्छ । त्यसमा अर्बिट जस्ता संस्थाहरुको ठूलो भूमिका छ । पचासौं हजारभन्दा बढी विद्याथीलाई परामर्श सेवा दिइसकेका छौं । पछिल्लो समय राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि क्षेत्रमा व्यवसायिक रुपमा हेर्ने हो भने पनि विदेशमा पढेर आएका नेपालीहरुले जुन प्रकारको योगदान देशलाई पुर्याएका छन्, त्यो आफैमा प्रसंशनीय रहेको छ । यसबाट व्यक्तिगत रुपमा म निकै सन्तुष्ट छु । 

Advertisement