उचित मूल्य नपाएको भन्दै एक महिनाअघि सडकमा फ्याँकिएको गोलभेंडाको ह्वात्तै मूल्यवृद्धि

Advertisement

काठमाडौं । उत्पादनको कमी र भारत निर्यात भएको भन्दै गोलभेंडाको मूल्य वृद्धि गरिएको छ । एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेंडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । 

तर ठिक एक महिनापछि अहिले विभिन्न बहानामा मूल्य ह्वात्तै वृद्धि गर्ने काम भएको छ । उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको जिकिर गरेका छन् । व्यवसायिहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपियाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालेर विरोध गरेका थिए । 

Advertisement

कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन् । मगरले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको दावी गरिन् । 

उनले एक महिनाअघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली गोलभेंडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताइन् । उनले नेपाली बजारमा गोलभेंडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताउँदै भारत नभएको भए ५० रुपियाँ किलो भन्दा माथि जाने अवस्था नभएको बताइन् । 

उनले अघिल्लो वर्ष यही समयमा प्रतिक्रेट दुई हजारसम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेडा दुई हजार पाँच सय रुपियाँ र टनेलभित्रको दुई हजार आठ सय रुपियाँ प्रतिक्रेट मूल्यमा बिक्री भइरहेको बताइन् । उनले भारतमा समेत दुई हजार आठ सय प्रति क्रेटमा गोलभेंडा गइरहेको बताइन् । अहिले नेपाली बजारमा गोलभेडा किलो १४० रुपियाँ रहेको छ । उनले गोलभेडाको मूल्य एक महिनामा किलामै ११० रुपियाँ बढेको छ ।

गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेंडा अत्याधिक महँगो भएको बताए । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताए । अधिकारीले १० रुपियाँ केजीसम्म झरेको गोलभेंडाको मूल्य किसानहरुले सडकमा फालेको बताए । 

उनले गोलभेंडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु पर्ने भएकाले किसानले औषधि उपचार नगर्दा उत्पादन कम भएकाले बजारमा कमी भएको बताए । अधिकारीले गोलभेंडाबाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्यवृद्धि नभएको बताए । 

तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए । उनले नेपाली उत्पादन गोलभेडा यो वर्ष नै सडकमा फाल्नेदेखि १४० रुपियाँसम्म मूल्य पुगेको बताए । 

श्रेष्ठले कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको बताए । उनले कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताए । श्रेष्ठले सरकारले कृषि क्षेत्रलाई बेवास्था गर्दा पनि समस्या आउने गरेको बताए । 

Advertisement