बजारमा बाढी पसेर करोडौं नोक्सान भएपछि बल्खु तरकारी बजारका व्यापारी बिलखबन्दमा

Advertisement

काठमाडौं । तरकारी तथा फलफूल बजारमा बाढी पसेर करोडौ। रुपियाँको नोक्सानी भएपछि बल्खु तयारी बजारका व्यापारी बिलखबन्दमा परेका छन् । 

सोमबारदेखि लगातारको भारी बर्षाका कारण मंगलबार आएको बाढीले बल्खु तरकारी तथा फलफूल बजार डुबानमा पर्नुका साथै ठूलो परिमाणमा तरकारी र फलफूल पानीले बगाएको थियो । बाढीले विशेषगरी नदी र खोला तटमा रहेका तरकारी बजार, सुकुम्बासी बस्ती, होटललगायतका मानवीय संरचनामा क्षति पुगेको थियो । 

Advertisement

बाढीले धुम्बाराही तरकारी तथा फलफूल बजारमा पनि क्षति पुर्याएको छ । यद्यपि यसको क्षति बल्खुको भन्दा कम देखिन्छ । उक्त बजारका सञ्चालक सीके लोप्चनले धुम्बाराही तरकारी बजारमा ठूलो बाढी पसेर क्षति भएको बताउँदै क्षतिको मूल्यांकन हुन बाँकी रहेको बताए । 

त्यस्तै, बल्खु तरकारी बजारका सञ्चालक रामकृष्ण कुँवरले पानी निरन्तर परिरहँदा खोलाको बहाब बढ्न संकेत पाएपछि आफूहरुले माइकिङ गरेर व्यापारीहरु जानकारी गराए पनि ठूलो क्षति भएको बताए । उनले  तरकारी बजारभित्र चार सय वटा स्टल रहेकोमा ३६० वटा तरकारी स्टलहरुमा बढी क्षति पुगेको बताए । 

बल्खु तरकारी बजारका तरकारी व्यापारी रवि शाहले हिजो आएको बाढीले आफ्नो ५० हजार रुपियाँभन्दा बढीको नोक्सान भएको बताए । यति क्षति भए पनि आफूहरुलाई बजार व्यवस्थापन कम्पनी वा सरकारले राहत र क्षतिपूर्ति दिन्छ भन्ने नलागेको गुनासो गरे । 

बल्खुका अर्का तरकारी व्यवसायी रामभत्त बस्नेतले ाबढी पसेर ठूलो क्षति हुँदा पनि कुनै सरकारी निकायले वास्ता नगरेको बताए । बाढी पसेपछि आफूहरुले उद्दार र राहतका लागि धेरै ठाउँमा फोन गरेको तर कतैबाट पनि रेस्पोन्स नजनाएको बताउँदै उनले भौतिक क्षति भए पनि मानवीय क्षति हुन नपाएकोले आफूहरु खुशी रहेको बताए । 

बल्खुका अर्का तरकारी व्यवसायी हरिप्रसाद लोहोनीले बल्खु तरकारी बजारका अधिकांश तरकारी तथा फलफूल पसलमा बाढीले क्षति पुर्याएको बताए । यसबाट पाँच करोड करोड रुपियाँभन्दा बढीको क्षति भएको बताए । लोहनीले भने, ‘पसलको सबै खाने कुरा नष्ट भयो । कति बगायो कति । माटो पसेको छ । अहिले बजारमा  ग्राहक आउनै कम भएको छ । भएको तरकारी बिक्री गर्न निकै कठिन भएको छ ।’

जल तथा मौसम विज्ञान विभागले अझै पनि भारी वर्षा हुन सक्ने भन्दै सचेत गराइरहेको छ ।  

Advertisement