सरकारले प्रतिपक्षलाई नटेर्ने, हेप्ने काम गर्योः लेखक, रवि लामिछानेसम्वन्धमा अडान कायमै

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राखेको छ । 

बुधवार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयमा उनले मन्त्री लामिछाने व्यक्ति मात्रै नभएको र उनको सहकारी ठगीमा संलग्नता देखिएको भन्दै संसदीय छानविन गर्नुपर्ने पार्टीको अडान कायमै रहेको प्रष्टयाए । 

Advertisement

प्रमुख सचेतक लेखकले सहकारीको रकम हिनामिनाको विषयमा लामिछाने र समग्रतामा पनि छानविन गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । काँग्रेसले मन्त्री लामिछानेको मात्रै छानविन नगरेर समग्रतामा छानविन गरी सहकारी बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उल्ल्ेख गर्दै नेपाली काँग्रेसले वैशाख २७ गते (भोलि) दिउँसो २ बजे पार्टी संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संविधान सभा भवनको ल्होत्से हलमा बोलाएको जानकारी दिए । 

लेखकले संसदको बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका बारेमा सोही बैठकले आधिकारिक धाराणा सार्वजनिक गर्ने बताए । उनले भने, ‘मुल कुरा के हो भने यहाँ एउटा कन्फ्युजन भएको छ । त्यो के हो भने हामीले मानौ कि मन्त्रीजी कहाँ मात्रै छानविन खोजिराखेका हौ कि भन्ने एउटा भाष्य निर्माण गर्ने प्रयत्न भईराखेको छ । त्यसो होइन । हामीले दुई वटै कुरालाई अगाडि बढाउने हो । त्यो के हो भने–लाखौं मान्छेको, हजारौं मान्छेको अर्बौ रपियाँ सहकारी जम्मा भयो । त्यो बचत अपचलन भयो । त्यसको दुरुपयोग भयो, हिनामिना भयो । ठगी भयो । र बचतकर्ताको रकम जोखिममा परेको छ । अथवा त्यो हिनामिना भएको छ । त्यसकारण बचतकर्ताको पीडालाई सम्बोधन गर्ने गरेर बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ ।’ 

लेखकले थपे, ‘यो हिनामिना, अपचलन, दुरुपयोग गर्नेमा संलग्न मानिसहरुलाई कारबाही गर्नु पर्छ । र सहकारीको जुन अभियान छ । यसलाई राम्रो बनाएर लैजानुपर्छ भन्ने कुरामा समिति बनाएर काम गर्ने कुरामा ठिक छ । हामीले त्यो गर्ने नै भनेको छौं, नगर्ने भन्या होइन । तर एक जना व्यक्तिका विरुद्ध लक्षित भन्ने कुरामा त मेरो धेरै टिप्पणी छैन । देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन । देशको गृहमन्त्री व्यक्ति मात्र होइन । त्यसो भएको हुनाले प्रष्ट उहाँको संलग्नता देखिएको हुनाले समग्रतामा हेर्ने कुरा पनि ठिक छ । दुई वटा टिओआर गरौं । एउटा समग्रतामा हेरौं । र उहाँमाथि पनि प्रश्न उठेको हुनाले त्यसमा पनि छानविन गर्ने गरेर जाने कुरामा पनि जानुपर्छ भन्ने कुरा मलाई लागि राखेको छ । अव आगामी अधिवेशनमा समग्रतामा हाम्रो भुमिका के हुन्छ ? भन्ने जहाँसम्म कुरा छ ।’ 

त्यसै अवसरमा गरी प्रमुख सचेतक लेखकले सरकारले प्रतिपक्षलाई नटेर्ने, हेप्ने गरेको गुनासो पनि गरे । 

Advertisement

Advertisement