पुनः सञ्चालनको पखाईमा रहेको जचूकालीका याक चुरोटसहित ४८ ट्रेडमार्क नवीकरण हुने

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनकपुर चुरोट कारखाना लिमिटेडको ४८ वटा ट्रेडमार्क नवीकरण गर्ने भएको छ । जचुकालिको ट्रेडमार्क सुरक्षित गरिदिन भन्दै मन्त्रालयले पत्राचार गरेपछि उद्योग विभागले नवीकरण गर्ने भएको हो । 

मन्त्रालयले एक महिनाअघि नै पत्राचार गरेको विभागले जानकारी दियो । पत्रमा विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । विभागको औद्योगिक सम्पत्ति शाखाले जचुकालिको ट्रेडमार्क नवीकरण गर्न लागेको हो ।

Advertisement

जचूकालीको ४८ वटा उत्पादनको ट्रेडमार्कको नवीकरण गर्न लागिएको हो । यो नवीकरण गर्नका लागि प्रतिट्रेडमार्क एक हजार रुपियाँ लाग्नेछ । मन्त्रालयले चुरोट कारखानाको ट्रेडमार्क सुरक्षित गर्नका लागि पत्र आएको विभागका एक कर्मचारीले बताए । उनले भने, ‘जनकपुर चुरोट कारखानाको ४८ वटा ट्रेडमार्क छन् । यी सबै ट्रेडमार्कको सुरक्षा गरिदिनको लागि पत्रमा भनिएको छ ।’

जनकपुर चुरोट कारखानाका उत्पादनहरुमध्ये तत्कालिन समयमा याक ब्राण्डको चुरोट निकै लोकप्रिय थियो । राजा महेन्द्रले चुरोट आयातमा स्वदेशी पुँजी बाहिर जान नदिन २०२१ पुस २९ मा यो उद्योग स्थापना गरेका थिए । कम्पनी ऐन, २०२१ अन्तर्गत जनकपुरमा स्थापित यो उद्योगमा सरकारको सतप्रतिशत स्वामित्व छ । 

जनकपुर शहरको बीच भागमा करिब ३४ विघा क्षेत्रफलमा रहेको जचूकालीमा कारखानासहित कार्यालय भवनको ठूलो भौतिक संरचना पनि छ । सोही कारखानाभित्र प्रदेश सरकारको कार्यालय, मन्त्रालय, मन्त्री निवाससमेत राखेर उद्योगको सम्पत्ति दुरुपयोग गर्ने काम भइरहेको छ । 

उद्योगभित्रका भवनहरु जीर्ण अवस्थामा छन् । प्रदेश सरकारले ती भवन तथा टहराहरु मर्मत गरी प्रयोग गरेको छ । सरकारले तत्कालिन समयमा ४.०८ करोड रुपियाँ लगानीमा सुरु गरेको ऐतिहासिक उद्योग बन्द हुँदा आम जनता निराश हुँदै आएका छन् ।  

त्यस्तैगरी, जचूकालीको आर्थिक वर्ष २०६५–७६ सम्म सरकारलाई तिर्न बाँकी ऋण रु. २ अर्ब ९४ करोड ६३ लाख बाँकी छ । आव २०७५–७६ मा त्यसको संरक्षणको लागि सरकारले रु. ४८ लाख रुपियाँ थप खर्च गरेको थियो । उक्त आवको अन्त्यसम्म उद्योगको खुद नोक्सान रु. २ अर्ब ९० करोड ६९ लाख रही खुद सम्पत्ति २ अर्ब ८१ करोड १६ लाख ऋणात्मक रहेको देखिन्छ ।

जचूकालीलाई पुनः सञ्चालनमा ल्याउन तत्कालिन समयका कर्मचारीदेखि स्थानीयले निकै पहल गरे पनि सरकारले नै उदासिनता देखाउँदै आएको छ । उद्योग बन्द हुँदै उसको जग्गा तथा सम्पत्ति हिनामिना र दुरुपयोग हुँदै आएको छ भने सोही उद्योगका लागि कच्च पदार्थ उत्पादन गर्ने स्थानीय किसानहरुको आयआर्जनको बाटो समेत बन्द भएको छ । 

हाल जचूकालीमा स्थायी कर्मचारी नरहे पनि उद्योगको सुरक्षाको लागि भन्दै करारमा १३ जना कर्मचारी राखिएको छ । उद्योग मन्त्रालयले २०७७ सालमा पूर्वसचिव दीपक सुवेदीको संयोजकमा रुग्ण उद्योगसम्बन्धी अध्ययन समिति गठन गरेको थियो । सो समितिले उद्योगको ट्रेडमार्क बिक्री गरी निजी क्षेत्रलाई बिक्री गरी सञ्चालन गर्न सक्ने विकल्प दिएको छ । 

तर जग्गा भने प्रदेश सरकारलाई दिने काम काठमाडौंको सरकारले गरेको छ । हरेक उद्योगमन्त्रीले जचूकालीलाई हतियारको रुपमा मात्रै प्रयोग गर्दै आएका छन् । उद्योग पुनः सञ्चालन गर्ने भन्दै तत्कालिन उद्योगमन्त्री लेखराज भट्टले प्रक्रिया थालेका थिए । त्यसपछिका उद्योगमन्त्रीले सोही कुरा बोल्दै आएका छन् । दिलेन्द्रप्रसाद बडूले पनि उद्योग सञ्चालन गर्ने प्रतिवद्धता मात्रै जनाए । तर तार्किक निष्कर्षमा पुर्याउन सकेनन् । 

अहिलेका उद्योग मन्त्री रमेश रिजालले पनि जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने बताएका छन् । हाल देशमा सूर्य नेपाल प्रा.लि.ले चुरोटको बजारमा एकलौटी व्यापार गर्दै राम्रो मुनाफा आर्जन गर्न सफल भएको छ । तर जनकपुर चुरोट कारखाना सञ्चालन हुने ठोस आधार अझै बनेको छैन् । 

Advertisement