‘नाडा अटो शो’का लागि गाडी आयात बढ्दा साउनमा भन्सार महशुल पनि बढी उठ्यो

Advertisement

काठमाडौं । भन्सार महशुल संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको सुरुवाती महिना– साउनको ३१ दिनमा गत वर्षको तुलनामा दुई अर्ब रुपियाँ बढीले राजश्व संकलन भएको हो ।

यस बर्ष साउन ३१ गतेसम्म ३२ अर्ब रुपियाँ भन्सार महशुल संकलन भएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललले बताए । उनले भने, ‘गत वर्षको तुलनामा यो महिना भन्सार महशुल संकलनमा केही सुधार देखिएको छ । बुधबारसम्ममा ३२ अर्ब राजश्व संकलन भएको छ ।’

Advertisement

सबै भन्सार कार्यालयमा कडाईका साथ सामानहरुको जाँचपास गर्न भनिएको पौडेलको भनाई छ । चालु वर्षमा भन्सार महसुलमा सुधार आउनुको कारण भदौमा हुन लागेको गाडीहरुको मेला (नाडा अटो शो) मुख्य कारण भएको विभागको भनाई छ । 

करिब चार वर्षपछि हुन लागेको नाडा अटो शोका लागि व्यवसायीहरुले धमाधम नयाँ गाडीहरु ल्याइरहेका छन् । यस्तै भन्सार कार्यालयको पार्किङमा रहेको गाडीहरु पनि विस्तारै छुटिरहेका छन् । नाडा अटो शो मा गाडीहरुको बिक्रीमा अफरहरु पनि हुने भएकाले बुकिङ पनि सुरु हुन थालेको व्यवसायीले बताएका छन् । 

यद्यपी अटोमोवाइल व्यवसायीहरुमा पहिले जस्तो रौनकता भने छाएको छैन् । बढ्दो आर्थिक मन्दीले गाडी बिक्री सुस्त भइरहेको छ । विशेषगरी गाडी खरीदका लागि कर्जा सुविधा जटिल बनाइएकाले उनीहरुमा उत्साह बढ्न नसकेको हो । गाडी खरीद गर्न चाहने उपभोक्ताले पनि कर्जा सहज नहुँदा बुकिङ गर्नसक्ने अवस्था बनेको छैन् । 

गाडी बिक्री नबढ्दा व्यवसायीहरुले करोडौं बिलम्ब शुल्क तिरेर भन्सार र्याडमै लामो समयसम्म गाडी राखिरहेका छन् । आयातमा ठूलो हिस्सा ओगट्दै आएको अटोमोवाइल क्षेत्रमा शिथिलता आउँदा समग्र आयात समेत कम भएको छ । गत वर्ष विदेशी मुद्राको संचिति घटेको भन्दै सरकारले गाडी र अन्य बिलासिता भनिएका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

विदेशी मुद्राको संचिति बढ्दै गएपछि अहिले भने सरकारले आयातलाई केही खुकुलो बनाए पनि कर्जा सुविधा समस्या बनेको छ । सोही कारण आयातमा अपेक्षित सुधार देखिन सकेको छैन् । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट साउन २ गते ६० किलो ७१६ ग्राम सुन बाहिरिएपछि बदनाम बनेको भन्सार प्रशासनले गिरेको साख जोगाउन निक्कै कसरत गर्नुपर्ने अवस्था बनेको छ । सुन काण्डको भन्सार विभागले आन्तरिक छानविन सक्काइसकेको छ, जसमा तीन जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा सामान जाँचपास गर्ने अधिकृत सन्तोष चन्द, एक्सरेमा बसेका सरोज श्रेष्ठ र कुमार ढकाल छन् ।

सुन काण्डपछि विभागले गत वर्षको प्रगति समीक्षासहित गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले नयाँ सन्दर्भसूचि पारित गरी लागू समेत गरिसकेको छ ।  

Advertisement

Advertisement