राजश्व संकलनमा आर्थिक बर्षको पहिलो महिना (साउन)देखि नै निराशाजनक नतिजा

Advertisement

काठमाडौं। आर्थिक मन्दीको असर यस आर्थिक बर्षको राजश्वमा संकलन पनि देखिन थालेको छ । लगातार दुई आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कम राजश्व संकलन भएको छ । गत बर्षको साउनमा पनि अघिल्लो बर्षभन्दा कम राजश्व संकलन भएकोमा यस बर्ष पनि साउनमा गत बर्षको भन्दा कम राजश्व संकलन भएको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गएको साउन महिनामा ७८ अर्ब ८७ करोड राजश्व संकलन भएको छ ।

Advertisement

गत आर्थिक २०७९–८० को पहिलो महिनामा ८० अर्ब ८२ करोड राजश्व संकलन भएको थियो । यस हिसाबले चालु वर्षको साउनमा गत वर्षभन्दा करिब दुई अर्ब कम राजश्व संकलन भएको हो । सरकारले चालु आवमा १४ खर्ब तीन अर्ब राजश्व संकलनको महत्वकाँक्षी लक्ष्य लिएको छ । यो लक्ष्यअनुसार राजश्व गर्न हरेक महिना  एक खर्ब रुपियाँभन्दा बढि राजश्व संकलन गर्नुपर्ने हुन्छ । 

तर सरकारले साउनमा ७८ अर्ब ८७ करोड मात्रै राजश्व संकलन गरेको छ । समीक्षा महिनामा सरकारले कर राजश्व ७० अर्ब एक करोड असुल गरेको छ । अन्य प्राप्तितर्फ नौ अर्ब २६ करोड रुपियाँ रहेको छ । यस्तै गैरकर राजश्व आठ अर्ब ६९ करोड रुपियाँ असुल गरेको छ । सरकारले राजश्व, अनुदान र अन्य प्राप्ति गरी कुल ८८ अर्ब १३ करोड प्राप्ती गरेको छ । गतवर्ष सोही अवधिमा सरकारले ९२ अर्ब १२ करोड प्राप्ति गरेको थियो ।

खर्चतर्फ सरकारले साउन महिनामा ३५ अर्ब ३७ करोड रुपियाँ खर्चिएको छ, जसमा सबैभन्दा धेरै वित्तिय व्यवस्थातर्फ २२ अर्ब रुपियाँ खर्च भएको छ । यो शीर्षकमा आन्तरिक तथा बाह्य ऋणको सावा ब्याज समावेश हुन्छ । यस्तै चालु शीर्षकमा १२ अर्ब १९ करोड खर्चिंदा विकास खर्च ९० करोड मात्रै भएको छ ।

राज्यको राजश्व संकलन गर्ने प्रमुख दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभागले सन्तोषजनक रुपमा कर संकलन गर्न सकेका छैनन् । भन्सार विभागले साउन महिनामा ३२ अर्ब ६६ करोड रुपियाँ राजश्व संकलन गरेको छ । यो महिना विभागले ३९ अर्ब ३१ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भन्सार विभागले गत वर्षको तुलनामा भने दुई अर्ब ६६ करोड बढी महशुल उठाएको छ । गत वर्षको साउन महिनामा सरकारले विदेशी मुद्रा संचितिमा असहज भएको भन्दै विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । गत आर्थिक वर्षमा इतिहासमै पहिलो पटक अघिल्लो आर्थिक वर्षको तुलनामा कम राजश्व असुल भएको थियो । चालु वर्षमा पनि यो निरन्तरता हुने देखिएको छ।

चालु वर्षको आयव्यय तालिका

गतवर्षको आय व्यायको तालिका

स्रोत:महालेखा नियन्त्रकको कार्यालय

 

Advertisement

Advertisement