बालबालिकालाई बाहिरको खाने कुरा खान नदिउँः पोषणविद् पन्त

काठमाडौं । बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसँग लड्न सक्छन् । तर, अहिलेपनि कर्णाली तथा सुदूरपश्चिमका बालबालिकाले उपयुक्त पोषण पाउन सकिरहेका छैनन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कमजोर बनाउँछ । यसै सन्दर्भमा केन्द्रित रहेर पोषणविद् (डाइटेसियन) विनिता पन्तसँग नानले गरेको कुराकानीको सारः 

प्रश्नः हाम्रो शरीरका लागि पोषण किन चाहिन्छ ?
उत्तरः हाम्रो शरीरका लागि पोषण एकदमै आवश्यक छ । पौष्टिक तत्वको प्रयोग हुने प्रकृया भनेकै पोषण हो । शरीरमा बन्ने विभिन्न कम्पाउण्डहरु हेमोग्लोविन, रगत, चिल्लो पदार्थका लागि पोषण चाहिन्छ । हाम्रो शरीरमा पौष्टिक तत्वको उपयोग हुनुपर्ने हुन्छ । यदी शरीरमा पौष्टिक तत्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गछां । शरीरलाई शक्ति प्रदान गर्न पोषणको भुमिका हुन्छ । शरीरका विभिन्न अगंलाई सरचारु गर्न पनि पोषण चाहिन्छ । पोषण भन्ने बित्तिकै सन्तुलीत खानाको राम्रो प्रवन्ध गरेको भनेर बुझिन्छ ।  

Advertisement

प्रश्नः शरीरका लागि कस्तो पौष्टिक आहारको आवश्यकता पर्छ ?
उत्तरः हामीले सन्तुलित खानेकुरा खानुपर्छ । सन्तुलित आहार भन्ने बित्तिकै पाँच वटा खाद्य समूह भनेर बुझ्नुपर्छ । हामीले खाने अन्न समूह, दाल गेडागुडी समूह, फलफूल र तरकारी समूह, माछा मासु, दुध र अण्डा समूह र चिल्लो–गुलियो समूह । यी सबै खानेकुरा ठिक्क मात्रामा र शरीरको लागि आवश्यकता अनुसार (उचाई, तौल, उमेर, शारीरिक क्रियाकलाप) मिलाएर खायौँ भने शरीरमा प्रयोग हुने भयो  । यी खानेकुराले न शरीरलाई दुब्लो हुन दिन्छ न त मोटो हुन दिन्छ । सन्तुलित खानेकुराको प्रवन्ध मिलाउनुलाई नै पोषण भन्छौं ।

प्रश्नः शरीरमा पोषण कमी भएर कस्ता खालका बिरामीहरु आउने गर्दछन् ?
उत्तरः नेपालको सन्दर्भमा स्वस्थ मान्छे अस्पतालमा आएर खानेकुराको परामर्श लिएको देखिँदैन । हामीकहाँ कस्तो अवस्थामा बिरामी आउनुहुन्छ भने बिग्रिसकेपछि, केही न केही नसर्ने रोगले छोइसकेपछि । धेरैजसो त मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, क्यान्सरको समस्या लगायत भइसकेपछि अस्पताल आउनुहुन्छ । आज भोलि अलिकति ट्रेण्ड बदलिएको छ, हामी कहाँँ मोटोपना समस्या भएकाहरु पनि आउनुहुन्छ । उहाँहरुको आवश्यकता अनुसार उहाँको रोग के हो ? उहाँले कस्तो खानेकुरा खाइरहनुभएको छ । उहाँको स्वास्थ्य चेकजाँचको रिपोर्ट के छ ? र, उहाँलाई के आवश्यकता पर्छ भनेर हामीले खानेकुराको परामर्श गर्छौं । जस्तैः काठमाडौंमा बस्नुहुन्छ वा गाउँमा गएर खेतिपाती गर्नुहुन्छ, के रोग छ ? त्यो अनुसार नै चाहिने आवश्यकता अनुसार पौष्टिक तत्व कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, विभिन्न भिटामिनहरु, खनिज पदार्थको मात्रा मिलाएर खानेकुरा दिएर पठाउँछौं ।

प्रश्नः पोषणका कारणले कस्ताकस्ता रोगहरुले आक्रमण गर्छ ?
उत्तरः अहिलेको अवस्था हेर्र्दा धेरै मानिसको जीवनशैली अस्तव्यस्त छ । सबै मानिसहरु व्यस्त हुनुहुन्छ ।  यो सँगसँगै मोटोपनको समस्या बढ्दो छ । मोटोपनको समस्याले गर्दा ल्याउने रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गाैलाको समस्याहरु यो चाहीँ हामी सँगसँगै आइरहेको हुन्छ । त्यसले गर्दापनि यो जोखिम बढीरहेको देखिन्छ । सामान्यतया न्युन पोषण भएर आउने एकदमै कम हुनुहुन्छ । कुपोषण भएका बालबालिकाहरु यहाँ आउने स्थिति पनि छैन होला । यहाँ त हामिकहाँ अधिक पोषण भएर आउनेहरुको संख्या धेरै छ । बच्चाबाट नै उच्च कोलेस्ट्रोल भएकाहरु आउने गरेका छन् । यस्तै, हामी कहाँ उच्च रक्तचाप, मधुमेह देखिएर आएकाहरु आउनुहुन्छ ।

प्रश्नः कस्तो खाना खानुपर्छ ?
उत्तरः बालबालिकाहरुलाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔं । जस्तोः जंकफुड, चाउचाउ, केक बाहिरको खानेकुरा सकेसम्म खान नदिऔँ । बिहानदेखि साँझको खानेकुरा घरमै बनाएको, घरमै पकाएको हुनुपर्छ । घरमा पाँच वटा खाद्य समूह खान आवश्यक छ ।  अन्न भनेर भन्दाखेरी बाहिरको चाउचाउ, ब्रेड, पप होइनकी घरमै बनाएको रोटी होला, चिउरा होला, पपकर्न होला, मकै होला बरु त्यसैलार्ई पकौडी बनाइदिनुहोस्, घरमै बनाइदिनुहोस्, स्वच्छ तेलमा बनाइदिनुहोस् । बच्चालाई खानेकुरा चिल्लो खानै दिन नहुने, तारेको खानै दिन नहुने होइन तर, घरमा बनाएको खानेकुरा बिहानदेखि साँझसम्म दैनिक रुपमा दिन सकियो भने बच्चा पक्कैपनि सुपोषित हुनसक्छ । खानेकुरा चाहीँ एकदमै धेरै खाने र अर्को कुरा बच्चाहरुको खेल्ने माहोल छैन, हाम्रो शारीरिक क्रियाकलाप नै एकदमै न्युन छ । त्यसले गर्दा घरकै खानेकुुरा खुवाए पनि ओभर इटिङ (धेरै खाना) छ भने त्यो पनि अर्को समस्या देखिएको छ । त्यसैगरी बच्चैदेखि आमाहरुले यति धेरै खुवाउनुहुुन्छ की दिनमा चाहिने भन्दा नचाहिने पौष्टिक तत्व खुवाउनुभएको हुन्छ । इनर्जी, प्रोटिनहरु चाहिने भन्दा एकदमै धेरै खुवाउनुभएको हुन्छ ।  त्यसकारणले गर्दा सानै उमेरबाट मोटोपनको समस्या बढ्दै आएको छ । अहिले म कहाँ आइपुुग्नुहुने प्रत्येक आमाहरुलाई मैले के सोध्ने गर्छु भने बच्चा जन्मदा कति तौलको थियो ? कति खुवाउनु हुन्थ्यो ? बेष्ट फ्रेडिङ खुवाउनुभएको हो वा फर्मुला मिल्क ? घरको खानेकुरा खुवाउनुभएको हो की बजारबाट किनेको ? त्यो बाटनै शुरु गरेर मैले काउन्सिलिङ गर्ने गर्छु । मोटोपनको समस्या फर्मुला मिल्क (दुध) बढी खुवाएको बालबालिकामा देखिएको छ ।

प्रश्नः कुपोषणका कारण ख्याउटेपना, पुड्कोपनाको समस्या देखिएको छ, रोकथामका लागि के गर्नुपर्ला ?
उत्तरः पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुवामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्छ । त्यसका लागि मातृपोषण कार्यक्रम आवश्यक हुन्छ । त्यो सँगसँगै बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ ? त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारलेपनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो । सुरक्षित खानेकुराको पनि आवश्यक हुन्छ । आमामा पोषणको अभाव भयो भने कम तौलको बच्चा जन्मिने सम्भावना हुन्छ । समय नपुगि बच्चा जन्मिदा बच्चाको तौल, उचाई पुगेको हुँदैन । यसले गर्दा कुपोषण निम्त्याउँछ । कुपोषण सँगसँगै विभिन्न संक्रामक रोगहरु लाग्नसक्छ । र, यसले गर्दाखेरी बच्चालाई मृत्युको मुखसम्म पु¥याउन सक्ने सम्भावना हुन्छ । विद्यालय तहमा पोषण शिक्षाको आवश्यकता देखिन्छ । किन भने विद्यार्थीले शिक्षा पाए भने घरमा गएर अभिभावकलाई जानकारी गराउनुहुन्छ । खाद्यान्नको अभाव भएको ठाउँमा सरकारले खाद्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।  

Advertisement