भारतले पठाएको अन्तरिक्ष यानले चन्द्रमा नजिक पुगेर तस्वीर पठायो

Advertisement

काठमाडौं । भारतले चन्द्रमाको अन्वेषणका लागि पठाएको अन्तरिक्ष यान ‘चन्द्रयान–३’ले चन्द्रमाको नजिकको तस्वीर पठाएको छ । उक्त यानसँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले यो तस्वीर खिचेर पठाएको बीबीसीले जनाएको छ । 

भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्वीर सार्वजनिक गरेको हो ।

Advertisement

विक्रमले चन्द्रमामा अवतरणका लागि आफ्नो अन्तिम चरणको अभियान बिहीवारबाट सुरू गरेको जनाइएको छ । विक्रम ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दैछ । 

चन्द्र सतहको निकै नजिकसम्म पुर्‍याएपछि ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग भइसकेको बीबीसीले जनाएको छ । सार्वजनिक भएको श्यामश्वेत तस्वीरमा चन्द्रमाको सतहमा चट्टान र खाडलहरू देखिन्छन् । यी खाडलमा बर्षौंदेखि सूर्यको प्रकाश नपरेको बताइन्छ । 

भारतको चन्द्रयान–३ सँगै रुसको ‘लुना–२५’ पनि चन्द्रमाको दक्षिणी ध्रुवतर्फ गइरहेको छ । दुवै अन्तरिक्ष यानहरू केही दिनको अन्तरालमा अवतरण हुने अपेक्षा गरिएको छ । लुना–२५ सन् १९७६ यता रुसले प्रक्षेपण गरेको आफ्नो पहिलो चन्द्रयान हो । त्यसबेला सोभियत सङ्घको अङ्ग रहेकै समयमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाएको थियो ।

गत साता प्रक्षेपण गरिएको रुसको अन्तरिक्षयान अगस्ट २१ वा २२ मा चन्द्रमामा अवतरण हुने ठानिएको छ । भारतीय अन्तरिक्षयान भन्दा केही दिन अगाडी मात्रै अवतरण हुने ठानिएको उक्त अभियान सफल भए रुसले यसमा इतिहास बनाउने छ । त्यो अवस्थामा भारतको चन्द्रयान दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो हुनेछ । यद्यपि भारत चन्द्रमामा अन्तरिक्षयान अवतरण गर्ने अमेरिका, पूर्व सोभियत युनियन र चीनपछि चौथो देश हुनेछ।

Advertisement

Advertisement