मदिरा र चुरोट उत्पादनको लाइसेन्सका लागि ठूला व्यवसायिक घरानाहरु दौडधुपमा

Advertisement

काठमाडौं । चुरोट र मदिरा उद्योगको लाइसेन्स हात पार्न ठूला व्यवसायिक घरानाहरु दौडधुपमा लागेका छन् । चुरोटको बजारमा सूर्य नेपालको एकलौटी जस्तै व्यापार रहेको र उसले निकै आकर्षक मुनाफा वितरण गर्न सफल भएको देखेपछि अन्य ठूला घरानाहरु पनि यसतर्फ आकर्षित भएका छन् । 

केही ठूला व्यवसायीहरुले नयाँ चुरोट उद्योगको लाइसेन्स लिन लबिङ सुरु गरेका छन् । व्यवसायीहरुले चासो देखाएपछि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचूकाली) सञ्चालन गर्ने या नयाँ लाइसेन्स दिने भन्ने विषयमा उद्योग मन्त्रालयमा छलफल सुरु भएको छ । 

Advertisement

चुरोट र मदिराको नयाँ लाइसेन्स हात पार्न भने त्यति सहज छैन् । चुरोट र मदिराको नयाँ लाइसेन्स नदिनको लागि संसदीय समितिले यसअघि उद्योग विभागलाई निर्देशन पनि दिएको छ । पछिल्लो समयमा अन्य उद्योग व्यवसायहरु ओरालो लागेको बेला चुरोट र मदिराको व्यापार भने निकै आकर्षक ढंगले बढेको छ । यद्यपी सरकारले चाहेमा लाइसेन्स वितरण गर्न सक्नेछ । 

सुर्तिजन्य पदार्थको उत्पादन तथा वितरण गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ । यस्तो अनुमति औद्योगिक लगानी प्रर्वद्धन बोर्डबाट लिनुपर्ने हुन्छ । मन्त्रालयले यस बोर्ड बैठक भदौ ८ गतेलाई राखेको छ । बोर्ड बैठकमा मदिरा र चुरोटको लाइसेन्स दिन सकिने वा नसकिने विषयमा अध्ययन कमिटि बनाउन प्रस्ताव गरिएको छ ।

चुरोट उद्योगका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल इच्छुक देखिएका छन् । उनले सार्वजनिक कार्यक्रममा नै सरकारी उद्योग निजी क्षेत्रले सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । यसैगरी जगदम्बा ग्रुपले पनि चुरोट कारखाना सञ्चालनको इच्छा देखाएको छ । व्यवसायी दीपक भट्टले पनि यसमा चासो राखेको पाइएको छ । 

यद्यपी सूर्य नेपालले भने बजारमा नयाँ खेलाडी नआउन् भन्ने उद्देश्यका साथ जचूकालीको याक ब्राण्डलगायतका चुरोटको ट्रेडमार्क आफैले खरीद गरेर उत्पादन बढाउने उद्योग मन्त्रालयसँग प्रस्ताव गरेको छ । ठूला कर्पोरेट हाउसहरुले जचूकालीको ट्रेडमार्कमा आँखा लगाएपछि उद्योग मन्त्रालयले उद्योग विभागलाई पत्र लेखेर ती सबै ट्रेडमार्ग नवीकरण गर्न निर्देशन दिएको छ । सोहीअनसार अहिले नवीकरण प्रक्रिया अघि बढेको विभाग स्रोतको भनाई छ । 

Advertisement

Advertisement