दुई सहसचिवसहित पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले लियो बयान

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारका दुई सहसचिवसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । 

सीआईबीले सहसचिवद्धय अरुण पोख्रेल र झलकराम अधिकारी तथा नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग मंगलबार बयान लिएको हो । सहसचिव अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठकै विश्वासपात्र कर्मचारीको रुपमा चिनिन्छन् । 

Advertisement

उनले सुन तस्करी गर्ने गिरोहका नाइके भनिएका दावा छिरिङसँग कुराकानी गरेको प्रमाण भेटिएपछि अध्यागमन विभागबाट गृह मन्त्रालय तानिएको थियो । आज उनको बयान लिइएको हो । अधिकारीले राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा सुन तस्करीलाई सहयोग गरेको आरोप लागेको छ । 

यसैगरी ६०.६१६ किलो सुन तस्करीमा दावासँग नै जोडिएका दिपेश पुनसँग पनि बयान लिइएको सीआईबीले जनाएको छ । सहसचिव पोख्रेल भने भेपमा सुन ल्याएको विषयमा बयान दिन पुगेका हुन्। 

भेपमा रहेको सुन भन्सारकै कर्मचारीबाट तस्करी गराउन भूमिका खेलेको आरोपमा पोख्रेल लगातार सीआईबी धाइरहेका छन् । यद्यपि दुवै जना सहसचिवलाई अहिलेसम्म पक्राउ भने गरिएको छैन् । 

साना कर्मचारी, भरियालाई पक्राउ गर्दै थुनेर अनुसन्धान गरिरहेको सीआईबीले ठूला नेता र कर्मचारीलाई भने पक्राउ गर्न आनाकानी गर्दै आएको छ ।

Advertisement