विद्युतीय वस्तुहरु अब नेपालमा नै उत्पादन गर्न सक्नुपर्छः उर्जामन्त्री बस्नेत

Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र बिस्तारको लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । 

बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको उद्घाटन गर्दै उनले यस्ता स्टेशन देशभर विस्तार गर्ने योजना रहेको सुनाए । देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन विद्युतीय सवारी साधन सञ्चालनका लागि मात्रै नभएर हरित र दिगो विकासमा लागि पनि हो भन्दै बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरण, नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए । 

Advertisement

उनले सरकारले जलविद्युत क्षेत्रको दीगो विकासको लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि नीतिहरु निर्माण गरिहेको बताए । बस्नेतले भने, ‘जलविद्युत क्षेत्रको दिगो विकासको लागि प्रविधिको विकास र अनुसन्धान र विद्युतीय सामग्रीको उत्पादनको दृष्टिले होस् वा विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले केही नीतिहरु निर्माण गरिहेको छ । उपयुक्त कानूनी व्यवस्थाहरु गरिरहेको छ । तर अब यो क्षेत्र कानूनी व्यवस्थामा मात्रै सिमित छैन् । व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउँदै छौं ।’ 

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनकोे क्षेत्रलाई सरकारले कानूनी व्यवस्थामा मात्रै सिमित नभएको भन्दै व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउने बताए । चार्जिङ स्टेशसनहरुको निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्वपूर्ण सावित हुने उनको भनाई छ । बस्नेतले विद्युतीय अन्य वस्तुहरु नेपालमा नै उत्पादन गर्न सक्नुपर्ने बताए । 

Advertisement