एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउन अब नियमावली संशोधन हुने, यस्तो आयो प्रतिवेदन

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई दोस्रो बजारमा प्रवेश गराउनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले प्रतिवेदन आएको र यसको आधारमा अब नियमावली संशोधन गरी एनआएनलाई दोस्रो बजारमा लगानीको बाटो खोलिने बताए । 

यही प्रतिवेदनका आधारमा विनियमावली संशोधन हुने बताउँदै उनले एनआरएनएलाई पनि विदेशी मुद्रामा लगानी खुला गरेपछि पुँजी बजारमा लहर आउने आशा व्यक्त गरे । सुजन काफ्ले नेतृत्वको समितिले दोस्रो बजारमा एनआरएनएलाई लगानी गर्न दिन विभिन्न प्रविधिक र कानुनी सुझावहरु दिएको छ । एनआरएनलाई लगानी खुल्ला गर्न नेपालका लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएका थिए । 

Advertisement

विश्व पूँजी बजारले अंगिकार गरेको धितोपत्रमा बाह्य पूँजी लगानीलाई प्रवेश गराउन नसक्दा नेपालको धितोपत्र बजारले अपेक्षाकृति गति लिन सकेको छैन् । अहिले नेपालको धितोपत्र बजारको प्राथमिक तथा दोस्रो बजारमा नेपालीहरुले मात्र लगानी गर्न पाउने कानुनी व्यवस्था छ । 

विश्वका कैयौ मुलुकले गैरआवासीय नागरिकका लागि छुट्टै नियम बनाई प्रोत्साहन गरिरहेको पाइन्छ । सरकारले विदेशी मुद«ा सञ्चितिको नयाँ स्रोतको खोजी गरिरहँदा गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा ल्याउन सके यसबाट समग्र अर्थतन्त्रमा वैदेशिक लगानीको स्रोत थपिन सक्ने देखेर सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत धितोपत्रको दोस्रो बजारमा एनआरएनको लगानी खुला गर्ने कानूनी व्यवस्था मिलाउने बताएको थियो । 

बजेट वक्तव्यमा ‘एनआरएनलाई शेयर बजारमा सूचिकृत भएका हाईड्रोपावर तथा अन्य वास्तविक क्षेत्रका कम्पनीहरुमा लगानी गर्ने बाटो खुला गर्ने तथा उनआरएनको पूँजी, प्रविधि र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने’ उल्लेख छ । ​धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत शेयर आरक्षित गर्ने वयवस्था पनि गरेको छ । 

Advertisement