बाह्र बर्षमा ४२ वटा परियोजनाका लागि १२ खर्ब ५० अर्बको लगानी स्वीकृत गरियोः बोर्ड

Advertisement

काठमाडौं । लगानी बोर्डको कार्यालयले १२ बर्षमा ४२ वटा विकास आयोजनाका लागि १२ खर्ब ५० अर्ब रुपियाँको लगानी स्वीकृत गरेको बताएको छ । बोर्डले शुक्रबार आफ्नो १२औं बार्षकोत्सवमा आयोजित कार्यक्रममा उर्जा क्षेत्रका २८ र गैरउर्जा क्षेत्रका बाँकी गरी ४२ वटा आयोजनाका लागि उक्त लगानी स्वीकृत गरेको बताएको हो । 

यस अवधिमा पाँच खर्ब २५ अर्ब रुपियाँको लगानी परिचालन भइसकेको पनि बोर्डले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । बाह्र बर्षमा प्रतिदिन छ हजार र तीन हजार टन सिमेन्ट उत्पादन क्षमता भएका ह्वाङ्सी र हुवासिन सिमेन्ट उद्योग सञ्चालनमा आइसकेको उल्लेख गर्दै धरानमा वेष्ट टू इनर्जी परियोजना निर्माण सम्पन्न सञ्चालनमा आएको बताएको छ । नौसय मेगावाटको अरुण तेस्रो र २१६ मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना निर्माणको चरणमा छन् । 

Advertisement

भारतीय कम्पनीले निर्माणको जिम्मा लिएको ६६९ मेगावाटको तल्लो अरुण लगानी जुटाउने प्रयासमा रहे पनि माथिल्लो कर्णाली भने बर्षौं भइसक्दा समेत लगानी जुटाउन नसकेको अवस्था छ । चार सय ५० मेगावाटको सेती नदी– ६ र पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य भइरहेको छ । तीन सय २७ मेगावाटको अपर मर्स्याङ्दी– २ को डीपीआर मूल्यांकन भइसकेको बोर्डको भनाई छ । प्रगति विवरणमा बोर्डले भारतीय संयुक्त लगानीको कम्पनी डाबर नेपालले थप नौ अर्ब ६८ करोड लगानी गर्ने भएको कुरा पनि उल्लेख गरेको छ । 

Advertisement

Advertisement