प्रकाश राणा नेतृत्वको तेक्वान्दो संघले खेल्न नदिएपछि न्याय खोज्दै खेलाडी

Advertisement

काठमाडौं । नेपाली तेक्वान्दोका ४० भन्दा खेलाडीले आफ्नो अभिभावकीय संस्था नेपाल तेक्वान्दो संघले प्रतियोगितामा सहभागी हुनबाट वञ्चित गराएको भन्दै न्याय माग गरेका छन् ।

नेपालका लागि दक्षिण कोरियाली दूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आगामी भदौ २७ देखि ३१ गतेसम्म ११ औं कोरियाली एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदैछ । उक्त प्रतियोगितामा प्रतिष्पर्धा गर्न देशभरबाट धेरै खेलाडीको आफ्नो नाम दर्ता गराएका थिए । 

Advertisement

तर, प्रकाश शमशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले आफूहरूको दर्ता अस्वीकृत गरेको खेलाडीहरूको गुनासो छ । यससँगै संघले स्वतन्त्रपूर्वक खेल्न पाउने आफूहरूको अधिकारीबाट वञ्चित गराएको खेलाडीहरूले बताएका छन् ।

सोमवार खेलाडीले पत्रकार सम्मेलन आयोजना गर्दै तेक्वान्दो संघ भित्रको राजनीति खिचातानी कारण आफूहरूको भविष्यमाथि समेत खेलबाड भइरहेको बताए । सोही टोलीका राष्ट्रिय खेलाडीसमेत रहेका एलिस ठकुरीले आफ्नो गुरुको नाम लिँदै संघका केही व्यक्तिले पटकपटक आफूलाई निरुत्साहित हुने काम गरेकाले प्रशिक्षण क्याम्प नै छाड्न बाध्य भएको बताए । 

संघ र प्रशिक्षकबीचको विवाद कारण आफूहरूलाई प्रतियोगिता खेल्न वञ्चित गराउँदै आएको पीडितहरुको गुनासो छ । खेलाडीहरूमाथि परेको अन्यायबिरुद्ध युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा पनि निवेदन दिए पनि कुनै सुनुवाई नभएपछि आफूहरू पत्रकार सम्मेलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ । 

वर्षौंदेखि नेपाल तेक्वान्दो संघलाई खेलेबापत ग्रेडिङ शुल्कसमेत तिर्दै आएको भए पनि अहिले सोही संघले नै  अन्याय गरिरहेको उनीहरूले गुनासो पोखे । साथै खेलकुदकै उच्च निकायबाट पनि आफूहरूमाथि भएको अन्यायमा कुनै सुनुवाई नभएकोमा उनीहरुले दुखेसो पोखेका छन् ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासको पाँच लाख सहयोगमा हुँदै आएको तेक्वान्दो प्रतियोगितामा यसअघि खेलाडीले निशुल्क खेल्दै आए पनि यस पटकदेखि एक हजार पाँच सय शुल्क लिएको र सोही शुल्क तिरेर पनि आफूहरूले खेल्न नपाएको तेक्वान्दो खेलाडीको भनाइ छ । नेपाल तेक्वान्दो संघको गतिविधिबिरुद्धमा दुतावासमा समेत निवेदन दिएको खेलाडीहरूले जानकारी दिएका छन् ।

कोही खेलाडीले आफूमाथि परेको अन्याय बिरुद्धमा बोल्यो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न नदिइ खेलाडीको भविष्यमाथि समेत संघले खेलबाड गर्ने गरेको खेलाडीहरूले आरोप लगाएका छन् । अहिले धेरै खेलाडीहरू भौतिक रूपमा उपस्थित हुन नसके पनि देशभर कयौं खेलाडीलाई संघ राजनीति स्वार्थका कारण प्रतियोगिता खेल्नबाट वञ्चित गरिरहेको खेलाडीहरूको भनाइ छ । चीनमा हुने एसियाडको तयारीमा रहेका खेलाडीहरूले समेत आफूहरूमाथि परेको अन्यायबिरुद्ध साथ दिने ती खेलाडीको विश्वास छ ।   

Advertisement

Advertisement