मेलम्चीमा एडीबी पूर्णरुपमा असफल भयो, उसले सबै ऋण अनुदानमा बदल्नुपर्छः डा. काफ्ले

Advertisement

काठमाडौं । एकजना वरिष्ठ इन्जिनियर डा. मुकेश काफ्लेले मेलम्ची खानेपानी परियोजनामा एशियाली विकास बैंक (एडीबी) पूर्णरुपमा असफल भएको भन्दै उसले आफ्नो सबै ऋण अनुदानमा बदल्नुपर्ने नयाँ तर्क अघि सारेका छन् । 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसमेत भइसकेका काफ्लेले मेलम्चीको मुहानको बाँध निर्माणको डिजाइन गलत हुँदा अहिले काठमाडौंका लाखौं मानिस पानी खानबाट बन्चित भएको कर्पोरेट नेपालसँगको कुराकानीमा बताए । 

Advertisement

मुहानभन्दा माथि ढुंगा बालुवासहितको गेग्रानको ठूलो डिपोजिट हुँदाहुँदै जुन ढंगले बाँध निर्माण गरियो, त्यो गलत थियो भन्ने कुरा पुष्टि भएको बताउँदै उनले यही गलत डिजाइनका कारण आयोजना अनन्त कालसम्मका लागि अनिश्चित जस्तो बन्न पुगेको बताए । 

काफ्लेले भने, ‘मेलम्चीको मुहानको ८–१० किलोमिटर माथि गेग्रानको त्यत्रो डिपोजिट रैछ । त्यो निकै पूरानो थुप्रो हो । आयोजनाको अध्ययन गर्दा त्यो डिपोजिट जुनसुकै बेला स्खलित हुनसक्छ, बग्नसक्छ भन्ने कस्तो अनुमान गर्न नसकेको ? जुन दुई बर्षअघिको बाढीमा भयो । एडीबी जस्तो संस्थाले अर्बौं रुपियाँ खर्च गरेर विदेशी कन्सल्ट्यान्ट नियुक्ति गरेर के अध्ययन गर्यो त ? अध्ययनमा गम्भीर प्रश्न उठ्छ नि ।’ 

मेलम्चीको असफलता नेपाल जस्ता गरिव मुलुकलाई हेप्ने दातृ संस्थाको प्रवृत्तिको एउटा उदाहरण पनि भएको उनले बताए । डा. काफ्लेले यस परियोजनामा एडीबीले आफूले लिएको ऋण पुर्नभुक्तानी माग्ने नैतिकता गुमाएको बताउँदै यो ऋणलाई अनुदानमा बदल्न ऊ तयार हुनुपर्ने बताए । 

मेलम्ची खानेपानी आयोजनाको समय दुई दशक थप गरेर र १५ अर्ब भनिएको लागत ३५ अर्बभन्दा बढी पुर्याएर सम्पन्न गरेको भनिए पनि काठमाडौं उपत्यकावासीले पानी नियमितरुपमा खान पाउने अवस्था अझै बनेको छैन् । आगामी दिनमा पनि त्यस्तो नियमितताको सुनिश्चितता हुने देखिन्न । 

हरेक बर्ष अर्बौं खर्चिएर गेग्रान हटाएर मेलम्ची आयोजना सञ्चालनको प्रयास गर्नु र हरेक बर्खामा फेरि आएर गेग्रानको थुप्रो मुहानमा आएर थुप्रिनु, सोही बहानामा हरेक बर्ष पानी आपूर्ति बन्द गर्नु, लागत बढेको नाममा उपभोक्तासँग थप रकम अशुल्दै जानु कति न्योचित र उचित हुन्छ ? भन्दै काफ्लेले प्रश्न गरे । 

दुई बर्षअघिको बाढीका कारण मेलम्ची खानेपानीको मुहानमा भएको क्षति निकै ठूलो प्राकृतिक विपत्ति वा कुनै भूकम्पको कारण नभई जलाधार क्षेत्रमा बर्षाका  कारण गेग्रानको थुप्रो स्खलित भएर बग्दा ठूलो जस्तो देखिएको उनले बताए । काफ्लेले यो गेग्रानको थुप्रो कुनै पनि दिन बग्छ भन्ने कुरा यस्ता ठूला आयोजनाको इन्जिनियरिङ डिजाइन गर्दा ख्याल गर्नुपर्ने कुरा हो भन्दै त्यस्तो जोखिम औंल्याउने र त्यसको समाधानको उपाय पनि दिएर आयोजना निर्माणका लागि परामर्श दिन एडीबीको कन्सल्ट्यान्ट असफल भएको बताए । 

यसै बर्ष गत साउन अन्तिम साता आएको बाढीले पनि मेलम्चीको मुहान फेरि पुरिदिएको छ । हरेक बर्ष बाढीसँगै आउने गेग्राने सुरुङमा क्षति पुर्याउने नाममा आयोजनाले मुहान बन्द गरेर खानेपानीको वितरण रोक्दै आएको छ । मेलम्चीको पानी काठमाडौंवासीको घर घरमै पुर्याउने भन्दै नेताहरुले दशकौंदेखि बाँड्दै आएको सपनामा अहिले धक्का लागेको छ । 

एडीबीको गलत अध्ययन र हेपाहा प्रवृत्तिले गर्दा अर्बौंको लगानी र लाखौं मानिसको सपनामा ठेस पुगे पनि एडीबी रिसाउने डरले सरकारको उच्च तहमा बस्ने व्यक्तिहरुले यस विषयमा बोल्ने आँट अहिलेसम्म गर्न सकेका छैनन् । मेलम्चीको डिजाइन असफल हुँदा मेलम्ची आयोजनाको भविश्व अन्योलमा पर्दा याङ्ग्री र लार्केबाट समेत पानी ल्याएर काठमाडौंका दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने सरकारको योजना पनि अन्योलमा परेको छ । 

Advertisement

Advertisement