डाक्टर कुटपिटको विरोधमा हेटौंडा अस्पतलाका ७८ स्वास्थ्यकर्मीको सामुहिक राजीनामा

Advertisement

काठमाडौं । मकवानपुरको हेटौंडा अस्पतालमा कार्यरत ७८ जना स्वास्थ्यकर्मीहरुले सामुहिक राजीनामा दिएका छन् । सोही जिल्लामा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि अस्पताल भित्रै भएको कुटपिटको विरोधमा हेटौंडा अस्पतालका चिकित्सकहरुसहित ७८ जना स्वास्थ्यकर्मीले सामुहिक राजीनामा दिएका हुन् । 

गत बुधबार हेटौंडा उपमहानगरपलिका वडा नं १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर थापा र विडारीमाथि कुटपिट भएको थियो । उक्त कुटपिटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

Advertisement

उक्त कार्यको विरोध, दोषीहरुमाथि कारवाही र सुरक्षाको प्रत्याभूतिको मागमा हेटौंडा अस्पतलाका स्वास्थ्यकर्मीले राजीनामा दिने निर्णय गरेका हुन् । उनीहरुले आजबाट हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेका छन् । 

नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्रचार गर्दै घटना भएको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाही नगरेको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गर्ने निष्कर्षमा पुगेको जनाएको छ । 

हेटौंडा अस्पतालमा दैनिकरुपमा एक हजार पाँच सय बिरामी स्वास्थ उपचारका लागी आउने गरेको जनाइन्छ । गत महिना डेंगु संक्रमणको कारण मृत्यु भएका हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडाका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तहरुले डाक्टरमाथि कुटपिट गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले डाक्टरमाथि कुटपिट गर्ने मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान र भतिज अनुप प्रधानलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । 

Advertisement