चालु आर्थिक वर्षको पहिलो महिनामै भित्रियो एक खर्ब १६ अर्ब रेमिट्यान्स

Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनमा १ खर्ब १६ अर्ब विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको साउन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भई रु.११६ अर्ब २ करोड पुगेको उल्लेख छ । 

Advertisement

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु.१२८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो । 

Advertisement