साना तथा मझौला उद्यमलाई सहजरुपमा कर्जा दिन चुनौती देखियोः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा मझौला उद्यमलाई सहजरुपमा कर्जा दिन चुनौती देखिएको बताएका छन् । 

फिलिपिन्सको मनिमा आयोजित एलायन्स फर फाइनान्सियल इन्क्लूजन (एएफआई) को वार्षिक बैठक तथा ग्लोबल पोलिसी फोरमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उक्त कार्यक्रम भदौ २६ देखि २९ गतेसम्म भएको हो । 

Advertisement

वित्तीय समावेशीकरणका सन्दर्भमा दक्षिण एशिया क्षेत्रमा लैंगिक असमानता रहेको, वित्तीय साक्षरताको कमी रहेको र साना तथा मझौला उद्यमलाई कर्जा उपलब्ध गराउन चुनौती देखिएको धारण राखे । 

सो अवसरमा उनले तोकिएको क्षेत्रमा कर्जाको व्यवस्था, लघुवित्त सेवा, वित्तीय ग्राहक संरक्षण, वित्तीय क्षेत्रमा सीमान्तकृत वर्गको पहुँच अभिबृद्धि, प्रविधिको प्रयोग, विद्युतीय सेवा, वित्तीय क्षेत्र र कारोबारको पारदर्शिता जस्ता विषयले समग्र अर्थतन्त्रमा पार्ने प्रभावको सन्दर्भमा राज्यका विभिन्न निकायले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे चर्चा गरे । 

उदीयमान तथा विकासन्मुख अर्थतन्त्र रहेका ७६ मुलुकका केन्द्रीय बैंक र अन्य ८ वटा नियामक संस्था गरी ८४ संस्थाहरु एएफआई सञ्जालमा आवद्ध छन् । मलेसियाको क्वालालम्पुरमा यसको मुख्यालय छ । यसले वित्तीय समावेशिता अभिबृद्धिको लागि नियमनकारी निकायहरुसँग सहकार्य गर्दै आएको छ । 
 

Advertisement

Advertisement