हिमाल स्टिलका लागि पाँच अर्ब ऋण दिने प्रतिवद्धताबाट पछि हटे बैंक, मेल्टिङ प्लान्ट अलपत्र

Advertisement

काठमाडौं । हिमाल आइरन एण्ड स्टिल प्रा.लि.लाई पाँच अर्ब ऋण दिने प्रतिवद्धताबाट बैंकहरु पछि हट्दा उद्योगको मेल्टिङ प्लान्ट राख्ने योजना प्रभावित भएको छ । 

ज्योति समूहको लगानी रहेको उक्त उद्योगमा ऋण लगानीको प्रतिवद्धता जनाएर पनि बैंकहरु पछि हट्दा आफूहरुलाई समस्या परेको उक्त समूहका अध्यक्ष डा. रुप ज्योतिले बताए । 

Advertisement

उनले बैंकहरुले पाँच अर्ब ऋणको प्रतिवद्धता जनाएर अन्तिममा ३०–४० करोड रुपियाँसम्म पनि ऋण नदिएपछि आफूहरुले सम्पत्ति बिक्री गरेर मेल्टिङ प्लान्ट राख्ने योजनालाई अघि बढाउन लागेको बताए । यद्यपि डा. ज्योतिले ऋण दिने प्रतिवद्धताबाट पछि हट्ने बैंकहरुको नाम खुलाउन चाहेनन् । 

आर्थिक मन्दी र राष्ट्र बैंकको नीतिका कारण साना व्यवसायी मात्रै नभएर पछिल्लो समयमा ठूलो व्यवसायी पनि मारमा परेका छन् । निर्माण कार्यमा आएको शिथिलताका कारण निर्माण व्यवसायी मात्रै नभएर निर्माण उद्योगहरुमा समेत यसको असर देखिएको छ । सिमेन्ट उद्योग, फलाम तथा स्टिल उद्योग, सीपीभीसी पाइप तथा फिटिङ उद्योग आदिको उत्पादनमा ठूलो गिरावट आएको छ । 

यही परिदृश्यलाई देखेर हुनसक्छ बैंकहरुले ज्योति समूह जस्तो पूरानो र प्रतिष्ठित संस्थाको उद्योगलाई समेत प्रतिवद्धताअनुसार ऋण दिन आनाकानी गरेका छन् । सरकारले प्रोत्साहन दिएका कारण आफूहरुले मल्टिङ प्लान्ट राख्ने काम अघि बढाएको बीचमा आएर समस्या भएको गुनासो गरे ।

डा. ज्योतिले भने, ‘सरकारले मेल्टिङमा जाउ भनेर नीति ल्यायो । जुन स्पञ्ज आइरन झिकाइन्छ, त्यसमा छुट दियो । त्यही भएर हामी पनि मेल्टिङमा जाने निर्णय गरियो । हाम्रो त भइरहेको उद्योग त्यति ठूलो लगानी गर्नुपर्ने होइन् । प्रोजेक्टमा डेढ–दुई सय करोड भए पुग्छ छ । तर पाँच सय करोडसम्म कमिटमेन्ट गर्यो बैंकहरुले । त्यो भएपछि आँखा चिम्लिएर प्रोजेक्ट गरौं भनेर लागियो । डकुमेन्टेशन गर्न थालियो पछि त सबै बैंक राष्ट्र बैंकको नीतिलाई देखाउँदै पन्छिन थाल्यो । एउटाले अर्कोलाई देखाउँछ । अर्कोले राष्ट्र बैंकलाई देखाउँछ । अर्कोले सीडी रेसियो नाघेर ९५ प्रतिशत पुग्न लाग्यो भन्छ । तर मेरो प्रोजेक्ट त अघि बढिसक्यो ।’ 

बैंकहरुले धोका दिएपछि आफ्नै फण्डबाट प्लान्ट निर्माणको काम अघि बढाउनु परेको बताउँदै उनले अहिले आफ्नो चालुँ पुँजी सबै हिमाल आइरन एण्ड स्टिलको मेल्टिङ प्लान्टमा गएको बताए । डा. ज्योतिले अघि बढिसकेको प्रोजेक्टलाई पूर्णता दिन विभिन्न ठाउँको जग्गा बिक्री गर्न आफू लागेको बताए । 

मेल्टिङ प्लान्टमा ५० करोडभन्दा बढी लगानी भइसकेको बताउँदै उनले एक–दुई वटा उपकरणहरु झिकाउन तत्कालै २० करोड जति आवश्यक भएको बताए । व्यवसायी ज्योतिले भने, ‘प्रोजेक्टमा पनि बैंकले लगानी नगर्ने । मेरो वर्किङ क्यापिटल पनि यसमा खर्च भयो । वर्किङ क्यापिटलको लागि कुरा गर्दा पनि बैंकले राष्ट्र बैंकको गाइडलाइन देखाएर ऋण दिन नमान्ने । अनि हामीले कसरी व्यवसाय गर्ने ? व्यक्तिगतरुपमा मलाई त राष्ट्र बैंक र बैंकको नीति र कार्यशैलीले ठूलो समस्या भयो । नोक्सान पनि भयो ।’ 

मेल्टिङ प्लान्ट राख्नुअघि हिमाल आइरनको नाममा जति कर्जा बाँकी थियो, त्यो मात्रै अहिले बाँकी रहेको र नयाँ प्रोजेक्टपछि आफूलाई कुनै पनि बैंकले थप ऋण नदिएको उनले बताए । एलसी (प्रतितपत्र) खोल्न पनि समेत सतप्रतिशत नगद जम्मा गर्नुपर्ने जस्ता अनुदार नीतिले नेपालमा औद्योगिक विकास हुन नसक्ने व्यवसायी ज्योतिको अनुभव छ । अधिकांश उपकरण आइसके पनि केही उपकरण आयात गर्न बाँकी रहेको तर एलसी खोल्दा सतप्रतिशत मार्जिनको व्यवस्थाले गर्दा अडकिएको उनले बताए । 

देशको आर्थिक अवस्था दिन प्रतिदिन बिग्रिरहँदा पनि अर्थ मन्त्रालय र राष्ट्र बैंक भने निष्प्रभावी र मुकदर्शक देखिँदै गएका छन् ।

Advertisement

Advertisement