सीमामा तस्करीमा संलग्न आरोपीलाई वारेन्ट जारी गरेको एक महिना बित्दा पनि पक्राउ गरिएन

Advertisement

काठमाडौं । तस्करीमा संलग्न रहेको आरोप लागेका राजु थापालाई एक महिना बित्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको छ । एक महिनाअघि नै पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले उनलाई पक्राउ नसकेको हो ।

भन्सार विभागले करिब एक महिनाअघि तस्करीमा संलग्न राजु थापालाई पक्राउ गर्न प्रहरीसमक्ष पत्राचार गरेको थियो। तर प्रहरीले एक महिनासम्म पक्राउ गर्न नसकेको हो । स्रोतका अनुसार प्रहरीका ठूला हाकिमसँग साँठगाँठ भएकाले थापालाई पक्राउ नगरिएको हो । 

Advertisement

उच्च स्रोतले कर्पोरेट नेपालसँग भन्यो, ‘तस्करीमा संलग्न रहेको आरोप लागेका थापा प्रहरीकै उच्च तहबाट संरक्षित छन् । हामीले जानकारी पाएसम्म प्रहरीको उच्च तहका हाकिमको पैसा खेलाउने व्यक्ति हुन् ।’

विभिन्न तस्करीमा थापाको नाम जोडिएपछि विभागले पक्राउ पूर्जी जारी गरेको महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए । पछिल्लो पटक भैरहवा भन्सार कार्यालयमा प्लास्टिकको दाना भनि अवैध कपडा र काजू भेटिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । 

गत भदौ ८ गते भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रक भन्सार र्याडमा प्लास्टिकको दाना भनि राखेको थियो । तर भन्सार कार्यालयले चेकजाँच गरेर हेर्दा कपडा र काजू भेटिएको थियो। थापालाई आर्थिक वर्ष २०७२–७३ मा पनि पक्राउ गरिएको थियो। त्यतिबेला उनी जुवा खेलिरहेका अवस्थाबाट पक्राउ परेका थिए। 

को हुन थापा ?
थापा सिमावर्ती नाकाहरुलाई आधार बनाएर बर्षौंदेखि कपडा तस्करीमा संलग्न व्यक्ति हुन् । उनी पहिले कपडा व्यापारीका एक कामदार थिए । कपडा व्यापारी गिरिधारी र आनन्द जलानलगायत व्यापारीको कामदारको रुपमा काम गर्दै आएका थापाले यी व्यापारीले नाममा फर्म खोलेर व्यवसाय गरिरहेका थिए ।

आर्थिक वर्ष २०७२–७३ मा राजश्व अनुसन्धान विभागले तीन ट्रक अवैध कपडा बरामद गरी थापालाई समेत थुनामा राखेको थियो । तत्कालिन समयमा विभागका महानिर्देशक निर्मलहरि अधिकारी थिए । उनले ठूलो राजनीतिक दबाबका बीच पनि थापाको समूहलाई कारबाही गरेका थिए ।  त्यतिबेला थापाको कम्पनी विरुद्ध तीन करोड ४३ लाखको मुद्दा दायर भएको थियो ।

स्रोतका अनुसार थापाले सो मुद्दामा परेपछि आफै काम सुरु गरेका छन् । उनले एक ट्रान्सपोर्ट कम्पनी पनि सञ्चालन गरिरहेका छन् । विगत ५ वर्षमा थापाले अवैध काम गरी मनग्य आम्दानी गरेका छन् । उनले सरकारी कर्मचारीदेखि प्रधानमन्त्रीसम्म पहुँच विस्तार गरेका छन् ।

Advertisement

Advertisement